हुम्लामा हिमपातका कारण कोरोना खोप अभियान प्रभावित



हुम्ला,माघ २२ । हिमपातले हुम्ला जिल्ला भरि सञ्चालन भइरहेको कोरोना विरुद्धको खोप अभियान दुई दिनदेखि प्रभावित बनेको छ । लगातार हिमपात भएपछि खोप सञ्चालन हुने खोप केन्द्रमा सेवाग्राही पुग्न नसक्दा चिसोले खोप पनि लगाउन नसकिने भएपछि उक्त कार्य प्रभावित भएको हो ।

जिल्लामा दोस्रो मात्राको खोप लगाउने तयारी गरेका स्थानीय सेवाग्राही खोप केन्द्रसम्म चिसोले जान नसकेको बताउने गरेका छन् । चिसो अत्याधिक बढेको र बाटोमा चिप्लो हुने भएका कारण खोप लगाउन स्वास्थ्य सेवा कार्यालयमा जान नसकेको सिमकोट गाउँपालिका दुईका बदुम बोहराले बताउनुभयो । सिमकोट गाउँपालिका–१ को दोजाम आधारभुत स्वास्थ्य सेवा केन्द्रका स्वास्थ्यकर्मी रत्न बोहराले दुई दिनदेखि लगातार हिमपात भई रहेको कारण कोरोना बिरुद्धको खोप लगाउने कार्य बन्द भएको बताउनुभयो ।

चिसोले गर्दा खोप केन्द्रमा स्वास्थ्यकर्मी उपस्थित भएको भएपनि सेवाग्राही कोही पनि नआएका कारण खोप लगाउने कार्य प्रभावित भएको बताउनुभयो । दैनिक १ सय ५० जना सेवाग्राही सो खोप केन्द्रमा खोप लगाउन आउने गर्थे गरेको भएपनि हिमपातले अहिले शून्य रहेको बताइको छ ।

हिमपातले गर्दा दुई दिन यता जिल्ला भरि कोरोना बिरुद्धको खोप लगाउने कार्य प्रभावित भएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेम बहादुर सिंहले बताउनुभयो । जिल्ला अस्पतालमा समेत दुई दिनदेखि खोप लगाउन कुनै पनि सेवाग्राहीको उपस्थित हुन नसकेको बताउनुभयो ।

जिल्लाका सात वटै गाउँपालिकाका ८१ वटा खोप केन्द्रमा खोप सहित स्वास्थ्यकर्मी पुगेर अभियानका रुपमा सञ्चालन गरेको भएपनि हिमपातले सो कार्य पुर्ण रुपमा बन्द भएको बताउनुभयो । यस कार्यमा दुई सय भन्दा बढी स्वास्थ्यकर्मी र स्वास्थ्य स्वयम सेविका परिचालन हुनु भएको छ ।

चिसोले तापक्रम माईनस पुगेको र लगातार हिमपात भई रहेको कारण खोप लगाउने कार्य प्रभावित भएको बताउनुभयो । यतिखेर जिल्लाभर बालबालिकाका लागि मोडर्ना खोपको दोस्रो मात्रा, बुस्टर खोप र अन्य पहिलो र दोस्रो मात्राको खोप लगाउने कार्य जारी रहेको जिल्ला अस्पाताल स्रोतले जनाएको छ । आज विहानबाट हुम्लामाको मौसममा सुधार आएको छ ।

प्रतिक्रिया दिनुहोस्