लोक गायक विष्णु खत्री माओवादी केन्द्र गलकोट नगर उपाध्यक्ष चयन
बागलुङ,माघ २० । लोकगायक विष्णु खत्री नेकपा माओवादी केन्द्र गलकोट नगर समितिका उपाध्यक्षमा चयन भएका छन् । बुधबार बसेको नगर समितिको पहिलो बैठकले खत्रीसहित सात सदस्यीय पदाधिकारी चयन गरेको हो ।
गायक खत्रीले विकास र सामाजिक रुपान्तरणमा योगदान दिन सक्रिय राजनीति रोजेको बताए । राजनीति र कलाकर्मलाई एकसाथ अघि बढाउने उनको भनाइ छ । आफूलाई चिनाउने लोकसङ्गीत क्षेत्रको टेवा र उत्थानमा सधैं क्रियाशील भएर लाग्ने खत्रीले बताए । गलकोट-७ मल्ममा जन्मिएका उनी यसअघि माओवादी केन्द्रको नगर समिति सदस्य थिए।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा खत्री माओवादी केन्द्रको तर्फबाट गलकोट नगरपालिकाको प्रमुख पदको उम्मेदवारका रुपमा सिफारिस समेत भएका थिए । लोकसङ्गीत क्षेत्रमा रुचाइएका गायक तथा सर्जक खत्रीले सयौं गीतमा स्वर दिएका छन् । उनले गीतमार्फत विकृति, विसङ्गति, गरिबी, उत्पीडन, अभाव र छुवाछुत जस्ता सामाजिक मुद्दालाई उठाउँदै आएका छन् । उनका ‘भरिया दाइ’, ‘अन्तरजातीय विवाह’, ‘कि लास चाहियो कि सास चाहियो’, ‘जम्मु कश्मिरमा’, ‘त्यहाँ हुन्छ गणतन्त्र’, ‘सुनको जलप लगायत गीत चर्चित छन् ।
माओवादी केन्द्र्रले गलकोट नगर समितिको अध्यक्षतामा तिलक उप्रेती, उपाध्यक्षमा खत्रीसहित गङ्गा भुजेल, ललित श्रीस, सचिवमा चन्द्रदत्त रेग्मी, सहसचिवमा भीम विश्वकर्मा र कोषाध्यक्षमा कौशिला घर्तीमगरलाई चयन गरेको छ ।