बाँकेका ७६ प्रतिशत बालबालिकाले लगाए कोरोना विरुद्धको खोप
बाँके, माघ २० । जिल्लाका ७६ प्रतिशत बालबालिकाले कोरोना विरुद्धको मोडर्ना खोप लगाएका छन् । १२–१७ बर्ष उमेर समुहलाई लक्षित गरि संचालन गरिएको खोप अभियानमा यहाँका ७६ प्रतिशत बालबालिकाले खोप लगाएको स्वास्थ्य कार्यालय, बाँकेका कोरोना खोप फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए ।
उनले सवैभन्दा धेरै कोहलपुरका बालबालिकाले खोप लगाएको बताए । कोहलपुरका १२१ प्रतिशत बालबालिकाले खोप लगाएको उनले बताए । त्यहाँ १० हजार तीन सय २९ बालबालिकालाई खोप लगाउने लक्ष्य लिइएको थियो, तर कोहलपुरका १२ हजार पाँच सय २१ बालबालिकाले खोप लगाएका छन् ।
त्यसैगरि, खजुरा र राप्तीसोनारीका समान ८४ प्रतिशतले खोप लगाएका छन् । भने, बैजनाथ र नेपालगन्ज उपमहानगरपालिकाका ७४–७४ प्रतिशत तथा डुडुवा गाउँपालिका ४७ र जानकीका ४५ प्रतिशतले खोप सुविधा लिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
मोडर्ना खोप लगाउनेमा नरैनापुर गाउँपालिका सवैभन्दा कम छन् । त्यहाँका ३४ प्रतिशत बालबालिकाले मात्र खोप लगाएको कोरोना खोप फोकल पर्सन श्रेष्ठले जानकारी दिए ।उनले चार हजार नौ सय ६६ लक्ष्य राखिएकोमा एक हजार ६ सय ७४ जनालेमात्र खोप लगाएको बताए ।