कोरोना अपडेट: थप ३,१७५ संक्रमित १४ मृत्यु
काठमाडौं,माघ २०। पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्या घट्दै गएको सरकारी तथ्यांकले देखाएको छ । नयाँ संक्रमितको संख्या घट्ने र निको हुने बिरामीको संख्या बढ्दा कोरोना महामारी विस्तारै घट्दै जाने देखिन्छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहिवार सार्वजनिक गरेको तथ्यांक अनुसार १२ हजार ६ सय ५ जनाको कोरोना परिक्षण गर्दा ३ हजार १७५ जनामा संक्रमण पुष्टि भएको छ ।
१० हजार २६ जनाको पिसिआर र २ हजार ५ सय ७९ जनाको एन्टिजेन विधिमार्फत कोरोना परिक्षण गरिएको थियो । यस्तै कोरोना निको हुनेको संख्या भने नयाँ संक्रमितको भन्दा दोब्बर देखिन्छ । गएको २४ घण्टामा नेपालमा ८ हजार ७ सय २३ जना निको हुनुभएको छ ।
हाल सम्म नेपालमा कोरोना निको हुनेको संख्या ८ लाख ८७ हजार ४ सय २३ रहेको छ । १४ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यो संगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ७ सय ७८ पुगेको छ । ६३ हजार २ सय ९६ सक्रिय संक्रमितको संख्या रहेको छ । २ लाख ६६ हजार ५ सय ४० जनाले कोरोना विरुद्धको खोप लगाएको पनि मन्त्रालयले जनाएको छ ।