बुधबार राष्ट्रिय सभा निर्वाचन, यस्तो छ तयारी !



काठमाडौ,माघ ११ । राष्ट्रिय सभाको निर्वाचन भोलि बुधबार हुँदैछ । राष्ट्रियसभा सदस्यको १९ सिटका लागि बुधबार निर्वाचन हुन लागेको हो ।

राष्ट्रिय सभाको निर्वाचन बिहान ९ बजेदेखि ३ बजेसम्म सातै प्रदेशमा हुनेछ । प्रदेश १ मा तीन, मधेश प्रदेशमा दुई, बागमती प्रदेशमा दुई, गण्डकी प्रदेशमा तीन, लुम्बिनी प्रदेशमा तीन, कर्णाली प्रदेशमा तीन र सुदूरपश्चिम प्रदेशमा तीन गरी १९ पदका लागि निर्वाचन हुँदै छ ।

निर्वाचनका लागि निर्वाचन आयोगले प्रदेश १ मा दुई वटा मतदानस्थल र अन्य ६ प्रदेशमा एक एक वटा मतदानस्थलभित्र दुई दुई वटा मतदान केन्द्र रहने गरी १४ वटा मतदान केन्द्र तोकेको छ ।

निर्वाचनको लागि प्रदेश १ मा ३६४, मधेश प्रदेशमा ३७२, बागमती प्रदेशमा ३४६, गण्डकी प्रदेशमा २२९, कर्णाली प्रदेशमा १९१, लुम्बिी प्रदेशमा २९६ र सुदूरपश्चिम प्रदेशमा २२७ गरी सातै प्रदेशमा कुल २०२५ मतदाता रहेका छन् । जसमा प्रदेश सभा सदस्यहरू ५३२, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नगरपालिकाका प्रमुख र उपप्रमुख १४९३ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्