हुम्ला अस्पतालमा आमा र शिशुको मृत्यु, परिवारले शव उठाउन मानेन
हुम्ला,माघ ८ । जिल्ला अस्पताल हुम्लामा शल्यक्रिया गरेको तीन दिनपछि सुत्केरी आमा र बच्चा दुवैको मृत्यु भएको छ ।
५ माघमा अप्रेसन गरेको केही समयपछि बच्चाको मृत्यु भएको थियो भने शुक्रवार राति आमाको मृत्यु भएको हो । अप्रेसन गरेको तीनपछि सिमिकोट गाउँपालिका( ५ का २१ वर्षीया टिका सार्कीको मृत्यु भएको हो ।
मृतक सार्कीलाई सुत्केरी व्यथाले च्यापेपछि जिल्ला अस्पताल हुम्लामा लिएर अप्रशेन गरेर शिशुलाई जन्म दिइएको थियो । तर अप्रेसनकै कारण आमा र बच्चा दुवैको मृत्यु भएको ससुरा धनसिंह सार्कीले बताए ।
बेला बेला बुहारीले अस्पतालमा चेक गराउने गरेको र जिल्ला अस्पताल हुम्लाले पनि अवस्था सामान्य रहेको बताउँदै समयमै सुत्केरी व्यथा लागेको बुहारीलाई रिफर नगर्दा बुहारीको ज्यान गएको उनको आरोप छ ।
जिल्ला अस्पतालले भने मृतक सार्कीको फोक्सोमा श्वासप्रश्वास मात्रा कम भएर मृत्यु भएको दाबी गरेको छ । शल्यक्रिया गरेको दुई दिनसम्म सार्कीको स्वास्थ्यमा उल्लेखनीय सुधार भए पनि शुक्रवार साँझ अचानक स्वास्थ्यमा समस्या देखिएको थियो ।
सार्कीले स्वास्थ्यमा समस्या देखिएको भनेपछि जिल्ला अस्पतालले उद्धारको लागि हेलिकोप्टर मगाएको थियो । तर राती भएकाले शनिवार बिहान हेलिकोप्टर उद्धारका लागि स्ट्यान्ड बाई बसे पनि राति नै मृत्यु भएको जिल्ला अस्पतालले जानकारी दिएको छ ।
जुम्ला कोटीलाकी टीका सार्कीले एक वर्ष अगाडि हुम्लामा विवाह गरेकी थिइन् । माइत पक्षले मृतक सार्कीको शव उठाउन नदिएपछि अहिले जिल्ला अस्पतालमै रहेको छ ।
माइती पक्षले के कति कारणले मृत्यु भएको हो सत्य तथ्य पत्ता नलाग्दासम्म शव उठाउन नदिएर पोस्टमार्टम नभएको र परिवारले शव पनि बुझ्न नमानेको जिल्ला स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेम सिंहले बताए ।
यसअघि ३० पुसमा जिल्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिका( ६ का गौगरा बत्यालको सुत्केरी भएको पाँच मिनेट पछि मृत्यु भएको थियो । यहाँका महिलाहरूले उपचारको अभावमा कलिलै उमेरमा ज्यान गुमाउनु परिरहेको छ । भौगोलिक विकटताले कयौँ महिलाले ज्यान गुनाउने गरेका छन् ।