बन्दाबन्दी हुने आशङ्काले ‘नो अब्जेक्सन लेटर’ लिने विद्यार्थीको लर्को
ललितपुर, माघ ७। ओमिक्रोन भेरियन्टका कारण बन्दाबन्दी हुन सक्ने डरले वैदेशिक शिक्षाका लागि बाहिरिन चाहने नेपाली विद्यार्थीको सङ्ख्या केही दिनयता ह्वात्तै बढेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको वैदेशिक अध्ययन अनुमतिपत्र व्यवस्थापन शाखामा अचेल दैनिक सात सयभन्दा बढी विद्यार्थीको लर्को लाग्ने गरेको छ ।
जबकि ओमिक्रोन तीव्र रूपमा फैलिनुअघि दैनिक तीन सय विद्यार्थीले नो अब्जेक्सन लेटर लिने गरेका थिए । शाखाका प्रमुख हरि निरौलाले अब विदेशमा पनि बन्दाबन्दी सुरु हुन्छ र ढिला गरेमा आफूहरू विदेश जान नपाउने भन्ने डर विद्यार्थीमा देखिएको बताउँदै भने, “यसै डरले केही दिनयता नो अब्जेक्सन लेटर लिनेहरूको भीड दोब्बरले बढेको छ ।”
नो अब्जेक्सन लेटर लिनका लागि बिहीबार ७१७ जनाको आवेदन परेको छ । गत वर्ष करिब ३१ हजारले नो अब्जेक्सन लेटर लिएका थिए भने चालू आर्थिक वर्षमा गत साउनदेखि पुस मसान्तसम्ममा करिब ३० हजारले यस्तो लेटर लिइसकेका छन् ।
यो समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ।