देशभर नेकपा समाजवादीमा प्रवेश गर्नेको लहर चलेको छः मन्त्री सोडारी



धनगढी,माघ ५ । नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य, प्रदेश उपसचिव तथा सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारीले प्रदेश सरकार सदैव प्रेसमैत्री रहेको बताएका छन् ।

बुधबार समाजवादी प्रेस संगठन नेपाल कैलालीको प्रथम जिल्ला कमिटी तथा सपथग्रहण कार्यक्रमको प्रमुख अतिथिको रुपमा बोल्दै उनले प्रदेश सरकार सदैव सञ्चारकर्मीका सबै समस्या समाधानका लागि प्रयत्नरत रहेको बताए । उनले आम सञ्चारकर्मीका समस्याका बारेमा आफू जानकार रहेको बताउँदै आउँदा दिनमा प्रदेश सरकारले सञ्चारमैत्री नीति अवलम्वन गरेर अघि बढ्ने बताएका छन् ।  

मन्त्री सोडारीले नेकपा (एकीकृत समाजवादी) मा देशभर प्रवेश गर्नेको लहर बढ्दै गएकाले आउँदो निर्वाचनमा पार्टीले तीनवटै तहमा पार्टी बहुमतका साथ विजयी हुने दावी गरेका छन् । उनले सुदूरपश्चिमका सबै स्थानीय तह, प्रदेश र संघीय निर्वाचनमा आफ्नो पार्टीलाई जनताले विजयी गराउने विश्वास व्यक्त गरे ।  

समाजवादी प्रेस संगठन नेपालका जिल्ला अध्यक्ष लक्ष्मीप्रसाद जैशीको अध्यक्षतामा भएको प्रथम जिल्ला बैठक तथा सपथ ग्रहण कार्यक्रममा स्वागत मन्तव्य संगठनका उपाध्यक्ष भूपेन्द्र विकले गरेका थिए ।

कार्यक्रममा समाजवादी प्रेस संगठनका सस्थापक सदस्य एबम् पत्रकार महांसंघका केन्द्रीय सचिव हेमकर्ण विक, संस्थापक सदस्य मिन ठकुरी र हरि जोशीले समाजवादी प्रेस संगठन नेपालको संगठन विस्तारका लागि संगठनसँग आवद्ध सम्पूर्ण सबैले जोडदार रुपमा लाग्नुपर्ने धारण व्यक्त गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्