गुल्मीमा एकै दिन ३५ जनामा कोरोना संक्रमण पुष्टि
गुल्मी,माघ ४ । मंगलवार गुल्मी जिल्लामा एकै दिन ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा गुल्मीमा आज ३५ जनामा कोरोना सङक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । ६३ मा गरिएको परिक्षणमा ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जिल्लाको रेसुङ्गा नगरपालिकामा ६ जना, कालीगण्डकी गाउँपालिकामा ११ जना, चन्द्रकोट गाउँपालिका, इस्मा गाउँपालिकामा १÷१ जना, सत्यवती गाउँपालिकामा ४ जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । रुरु गाउँपालिकामा ३ जना,छत्रकोट गाउँपालिकामा ८ जना र धुर्कोट गाउँपालिकामा १ जना पिसिआर गरि ३५ जनामा संक्रमण पुष्टि भएको छ । जिल्लामा सक्रिय संक्रमितको संख्या ६० जना रहेको छ । कोारोनाको दोस्रो लहर बाट ९७ जनाको मृत्यु भएको छ ।
हालसम्म यस जिल्लामा १ लाख ३५ हजार ६४६ जनाले पहिलो मात्रा र ६२ हजार ४२१ जनाले दोस्रो मात्राको खोप लगाएका छन । गुल्मीमा बिद्यालयको पठनपाठन र मेला महोत्सवमा रोक जिल्ला स्तरिय कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र गुल्मीले पुस २९ गतेबाट सम्पूर्ण बिद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ । जिल्लाको परिस्थती अनुसार डिसिएमसीले कार्यान्वयन गर्ने भएकाले जिल्लामा कोभिड संक्रमण बढ्दै गएकाले बन्द गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले जानकारी दिए ।
सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुने गरी मेला, भेला तथा महोत्सव नगर्ने नगराउने निर्णय पनि बैठकले गरेको छ । माघ ७ गतेदेखि सार्वजनिक सेवा प्राप्त गर्दा र सार्वजनिक स्थलहरुमा प्रवेश गर्दा कोभिड विरुद्धको खोप लगाएको कार्ड (मोबाइलमा फोटो भए पनि हुने) अनिवार्य गर्ने निर्णय भएको छ । स्वास्थ्य कार्यालयले नियमित खोप केन्द्रहरुबाट खोपलाई अभियानकै रुपमा अगाडि बढाउने र स्थानीय तहमा निशुल्क एन्टिजेन परीक्षणको व्यवस्था मिलाउने निर्णय भएको छ । लक्षित समुदायमा पर्ने खोप लिन इच्छुक सबैलाई ०७८ माघ १५ भित्र खोप लगाउने प्रवन्ध गर्ने निर्णय भएको छ ।
उद्योग धन्दा, कलकारखाना, व्यापार व्यवसाय, बैंक तथा वित्तिय संस्थाका साथै सेवा प्रवाह गर्ने सबै कार्यालयले जनस्वास्थ्यका निर्धारित मापदण्ड अनिवार्य रुपमा पालना हुने व्यवस्था मिलाउने बैठकमा निर्णय भएको छ । त्यस्तै जिल्लामा सञ्चालन हुने सार्वजनिक एवं नीजि सवारी साधनका सवारी चालक, सहचालक र सबै यात्रुरुहरुले अनिवार्य मास्क लगाउने, मास्क नलगाउने यात्रुलाई सवारी साधनमा प्रवेश नगराउने भएको छ । सिट क्षमता भन्दा बढी यात्रु नराख्ने, स्यानिटाइजरको व्यवस्था गर्ने र सवारी साधन दैनिक नि–संक्रमण गर्ने निर्णय भएको छ । सरकारी कार्यक्रमको हकमा जिल्ला प्रशासन कार्यालयको समन्वयमा जनस्वास्थ्यका निर्धारित मापदण्ड पालना गरेर मात्र सञ्चालन गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।