नुवाकोटमा अस्पतालदेखि प्रशासनसम्म जताततै कोरोना



नुवाकोट,माघ ४ । नुवाकोटमा कोरोना सङ्क्रमणदर बढ्दै गएको छ । जिल्लाका विभिन्न समुदायस्तरमा कोरोनाको सङ्क्रमण फैलिएकाले भाइरस नियन्त्रणका लागि अस्पतालदेखि प्रशासनसम्म जताततै निगरानी बढाइएको छ।

जिल्लाको त्रिशूली अस्पतालमा दुई विशेषज्ञ चिकित्सक, चार मेडिकल अधिकृतसहित ३० स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण देखिएको मेडिकल सुपरिटेन्डेण्ट डा दीपेन्द्र पाण्डेले जानकारी दिए । उनका अनुसार कोरोना नियन्त्रणका लागि अग्रपङ्क्तिमा रहेर सेवा पुर्याउने अधिकांश चिकित्सक–स्वास्थ्यकर्मी भाइरसबाट सङ्क्रमित भएका छन् ।

सुपरिटेन्डेन्ट पाण्डेका अनुसार अस्पतालका विशेषज्ञ चिकित्सक, मेडिकल अधिकृत, नर्स, पारामेडिक्स, प्रयोगशालाकर्मीलाई लक्षणसहितको समस्या देखिएको छ। हाल जाँच गराउन आउने बिरामीको दर समेत बढिरहेको पाण्डेले बताए ।

जिल्लामा विभिन्न कार्यालय संचालनमै रहेकोे छ। अत्यावश्यक सेवा लिनका लागि मात्र आउन प्रशासनले अनुरोध गरे पनि फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता, राष्ट्रिय परिचयपत्र, लामो समय रोकेर एक साताअघिदेखि सुरु गरिएको विद्युतीय राहदानी बनाउनेको सङ्ख्या भने दैनिक १०० भन्दा बढी पुग्ने गरेका छन् । नुवाकोटमा कोरोनाका सक्रिय सङ्क्रमित सोमबारसम्ममा १०१ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्