कोरोना संक्रमण : फेरि उच्च गतिमा फैलिँदै



काठमाडौं,पुस २६ । कोरोना भाइरसको संक्रमण पछिल्ला केही महीना आरालो लागे पनि फेरि उच्च गतिमा फैलिन थालेको छ ।

पछिल्लो २४ घण्टामा अर्थात् आइवार मात्रै एकै दिन १ हजार १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो संक्रमित संख्या पछिल्लो समयकै धेरै हो । शनिवार ९ सय ४४ जना र शुक्रवार ९ सय ६८ जनामा संक्रमण पुष्टि भएको थियो । तर, आइतवार त्योभन्दा बढी संख्यामा संक्रमित थपिएका छन् ।

आइतवार १२ हजार ६३२ जनामा कोरोना परीक्षण गरिएको थियो । सोही अवधिमा निको हुनेको संख्या २ सय २४ जना रहेको छ भने कोरोना संक्रमणबाट २ जनाको ज्यान गएको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ७ सय ५५ जना रहेको छ र अहिलेको संक्रमण जोखिमको हिसाबले यो संख्या अझै बढ्ने सरकारी अधिकारीहरूको आकलन छ । अधिकारीहरूका अनुसार १ हप्ता अगाडिको भन्दा दोब्बरले बिरामी संख्या अस्पतालहरूमा बढेको छ ।

कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख प्रशासकीय अधिकृत (सीईओ) डाक्टर भूपेन्द्रबहादुर बस्नेतले पछिल्लो १ सातामा कोरोना संक्रमण बढेको बताएका छन् । उनका अनुसार पछिल्लो समय नेपालमा संक्रमण तीव्र बढेको हो ।

ओमिक्रोन संक्रमण छिटो फैलिने हुँदा पछिल्लो समय संक्रमितको संख्या अस्वाभाविक रूपमा बढ्दो छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा डाक्टर बस्नेतले केन्द्रीय अस्पतालले समन्वय गर्दै आएका देशभरका अस्पतालमा कोरोनाका बिरामी भर्ना हुनेक्रम बढेको जानकारी दिए ।

‘कोभिड–१९ केन्द्रीय अस्पतालले उपत्यकाका १३ ओटा अस्पताल र प्रदेशस्तरका सातओटा अस्पतालसँग निरन्तर समन्वय गर्दै आएको छ । सबै अस्पतालमा कोभिडका बिरामी बढेको पाइएको छ,’ उनले भने, ‘धेरै अस्पतालमा १ हप्ता अगाडिको भन्दा दोब्बरले बिरामी संख्या बढेको छ ।’

यसैबीच, कोरोना संक्रमण रोकथामका लागि स्वास्थ्य मापदण्ड परिपालना गराउने तथा सतर्कता अपनाउने विषयमा छलफल गर्न सीसीएमसीको बैठक बसेको छ ।

आइतवारको बैठकमा कोरोना संक्रमण दर बढ्दै गएका बेला जनजीवनलाई कसरी सुरक्षित बनाउने भन्ने सन्दर्भमा छलफल भएको छ ।

अनावश्यक भीडभाड गर्न नदिने, स्वास्थ्य मापदण्ड परिपालना कडाइका साथ गराउने, खोप र पीसीआर परीक्षण दायरा बढाउनेलगायत विषयमा छलफल भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गोविन्दप्रसाद रिजालले जानकारी दिए । उनले कोरोना संक्रमण बढिरहेको अवस्थामा सबैतिर भीडभाड बढेकाले त्यसलाई व्यवस्थापन गर्ने सन्दर्भमा पनि छलफल भएको बताए ।

छलफलमा कोरोना संक्रमण दर बढे प्रमुख जिल्ला अधिकारीहरूले अत्यावश्यक निर्णय गर्न सक्ने निर्णय पनि भएको छ । त्यस्तै, भौतिक दूरी कायम गराउने, मास्कको अनिवार्य गर्ने, स्यानिटाजर प्रयोग गर्नेजस्ता स्वास्थ्य मापदण्ड पालनामा कडाइ गर्ने विषयमा पनि छलफल भएको छ ।

सोही सन्दर्भमा आइतवार बिहान उपत्यकाका तीनओटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले छुट्टाछुट्टै बैठक तथा छलफल गरेका थिए । त्यस क्रममा विनामास्क ओहोरदोहोर नगर्न, भीडभाड नगर्न, भौतिक दूरी कायम राख्नेलगायत निर्देशन जारी गर्नेबारेमा छलफल भएको छ । ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले पनि कोरोना सक्रमण रोकथामका लागि आवश्यक छलफल गरेका छन् ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले परिस्थितिअनुसार कडाइ गर्ने छलफल भइरहेको बताइन् । उनले भनिन्, ‘स्वास्थ्य मापदण्डमा चाहिँ सोमवारदेखि नै कडाइ गर्छौं ।’

ललितपुर प्रशासनले पनि जिल्ला जनस्वास्थ्य कार्यालय, खोप समन्वय समिति, महानगरपालिका, प्रहरी परिसरलगायतसँग छलफल गरेको छ । पहिलो चरणमा स्वास्थ्य मापदण्डमा कडाइ गरिने र संक्रमण दर तीव्र गतिमा फैलिए अन्य निर्णय गरिने ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले जानकारी दिए । ‘कोरोना संक्रमणको नियमित समीक्षा गरिरहेका छौं, अहिले नै बन्दाबन्दी वा धेरै कडाइ गर्नुपर्ने अवस्था छैन,’ उनले भने, ‘स्वास्थ्य मापदण्ड पालनामा भने कडाइ गर्छौं, खोप कार्यक्रमलाई पनि तीव्रता दिन्छौं ।’ उनले सीसीएमसी र स्वास्थ्य मन्त्रालयको निर्देशनअनुसार आफूहरूले काम गर्ने तयारी गरेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्