एमाले जिल्ला अधिवेशन: बाँके, बर्दिया र नवलपरासीमा सर्वसम्मत नेतृत्व



बुटवल,पुस २५ । लुम्बिनी प्रदेशका धेरैजसो जिल्लामा एमालेको नेतृत्व सर्वसम्मत चयन भएको छ। प्रदेशका १२ जिल्ला मध्ये १० जिल्लामा अधिवेशन भएकोमा सातवटा जिल्लामा सर्वसम्मत नेतृत्व चयन भएको हो । दुई जिल्ला कपिलवस्तु र पश्चिम नवलपरासीमा भने चुनावमार्फत नेतृत्व चयन गरिएको छ भने प्यूठानमा पनि निर्वाचन मार्फत नेतृत्व चयन हुने तयारी छ ।

नेकपा एमाले बाँकेको आठौं अधिवेशनबाट किस्मत कुमार कक्षपति अध्यक्षमा निर्वाचित भएका छन् । अध्यक्ष पदका दाबेदार डिल्लि बिसिउपाध्यक्ष र अर्का अध्यक्ष पदका दाबेदार रत्न खत्री सचिवमा सर्वसम्मत चयन भएका हुन । उपसचिवमा दिपक वर्मा र भुमिसरा धिताल चयन भएका छन् । १२० जिल्ला कमिटी सर्वसम्मत चयन गरिएको एमाले बाँकेले जनाएको छ ।

नेकपा एमालेको बर्दिया जिल्ला कमिटी पनि सर्वसम्मत चयन भएको छ । जिल्ला अध्यक्षमा लालबहादुर श्रेष्ठ चयन भएका छन् । अध्यक्षमा निर्वाचित श्रेष्ठ जिल्लाको बढैयाताल गाउँपालिका अध्यक्ष पनि हुन् ।

यस्तै उपाध्यक्षमा शालिकराम अधिकारी सर्वसम्मत चयन भएका छन् । ११६ सदस्यीय कमिटीको सचिवमा पदम ढकाल तथा उपसचिवमा पहारी थारु र टीका सम्सेली चयन भएका छन् ।नेकपा एमाले गुल्मीको अध्यक्षमा बालसिंह काउछा र सचिवमा गणेश श्रीपाली निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तै एमाले पश्चिम नवलपरासीको अध्यक्षमा दीपेन्द्र कार्की निर्वाचित भएका छन् । राति सकिएको मतगणनाको परिणाम अनुसार अधिकारी २३२ मत ल्याइ विजयी भएका हुन् । उनका प्रतिष्पर्धी थानप्रसाद गैरेले १८५ मत ल्याए । त्यस्तै उपाध्यक्षमा डोलराज भण्डारी, सचिवमा धिरज शर्मा बस्याल र उपसचिवद्वयमा राजनकुमार आचार्य र रिंगला यादव निर्वाचित भएका छन् । एमालेको प्यूठान जिल्लामा भने नेतृत्व चयन आइतबार टुंगिने भएको छ ।

रुकुम पूर्व हिमाली जिल्ला भएकाले पछि मात्र अधिवेशन हुने छ भने रोल्पामा एमाले जिल्ला सचिवको निधन भएकाले अधिवेशन स्थगित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्