नुवाकोट पञ्चकन्याका १३५२ विद्यार्थीलाई रक्त समूह कार्ड वितरण



नुवाकोट,पुस १६ । जिल्लाको पञ्चकन्या गाउँपालिकामा अध्ययनरत विद्यार्थीलाई रक्त समूह कार्ड वितरण गरिएको छ। नेपाल रेडक्रस सोसाइटी पञ्चकन्या उपशाखाको सहयोगमा सो कार्ड वितरण गरिएको हो।

गत एक साताको अवधिमा विभिन्न विद्यालयमा पुगी रेडक्रस प्रतिनिधि र स्वास्थ्यकर्मीको सहयोगमा माध्यमिक तहमा अध्ययनरत विद्यार्थीको रगत संकलन गरी रक्त समूह कार्ड वितरण गरिएको नेपाल रेडक्रस सोसाइटी पञ्चकन्या शाखाका सचिव ज्ञानेन्द्र गिरीले बताए ।

सचिव गिरीका अनुसार पञ्चकन्या गाउँपालिका सेवा क्षेत्र भित्र रहेका दस वटा माध्यमिक विद्यालयमा अध्ययनरत १३५२ जना विद्यार्थीलाई रक्त समूह कार्ड वितरण गरिएको छ। नेपाल रेडक्रस सोसाइटी पञ्चकन्या उपशाखाको आयोजना तथा पञ्चकन्या गाउँपालिकाको समन्वयमा भएको रक्त समूह कार्ड वितरण कार्यक्रममा १० वटा माध्यमिक विद्यालयका १३५२ विद्यार्थीले आफ्नो रगत परीक्षण गराएका थिए।

जसमध्ये कुण्डला माध्यमिक विद्यालयका १४४ जना, बच्छला माध्यमिक विद्यालयका ८१ जना, भेडाबारी माध्यमिक विद्यालयका ६८ जना, पञ्चकन्या माध्यमिक विद्यालयका १४० जना र कालिका माध्यमिक विद्यालयका ११९ जना विद्यार्थीले रक्त कार्डका लागि रगत परिक्षण गराएका थिए। त्यस्तै राष्ट्रिय माध्यमिक विद्यालयका १८० जना, नवसन्जिवनी माद्यामिक विद्यालयका १९० जना, इन्द्रायणी माध्यमिक विद्यालयका १८० जना, उदय जालपा माध्यमिक विद्यालयका १४२ जना र मंगला माध्यमिक विद्यालयका १०८ जना विद्यार्थीले रगत परिक्षण गरी आआफ्नो रक्त ग्रुप अनुसारको कार्ड पाएका छन्। ।

देश तथा विदेशमा विभिन्न भौतिक तथा प्राकृतिक दुर्घटनामा रगत आवश्यक पर्ने भएकाले आफ्नो नजीकको साथी तथा आफन्तजनलाई रगत आवश्यक परेको खण्डमा आफ्नो रगत तत्काल दान गरी जीवन रक्षा गर्न सहज होस् भन्ने हेतुका साथ रक्त समूह कार्ड वितरण गरिएको नेपाल रेडक्रस सोसाइटी पञ्चकन्या उपशाखाका सभापति बालकृष्ण पराजुलीले बताए । रक्त परिक्षण कार्यक्रममा रगत-रक्तदान जीवनदान विषयक परामर्श समेत दिइएको सो शाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्