माओवादीको महाधिवेशन लम्बियो, नेतृत्व चयनका लागि शुक्रबार प्रक्रिया सुरु हुने
काठमाडौ,पुस १५ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को आठौँ राष्ट्रिय महाधिवेशन लम्बिएको छ । पूर्वनिर्धारित कार्यक्रमअनुसार आजसम्म महाधिवेशनको सबै कार्यक्रम सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि समूहगत छलफलको निष्कर्ष सुनाउन दुई दिनको समय लागेको तथा नेतृत्व चयन प्रक्रिया अझै बाँकी रहेकाले महाविधेशनको कार्यसूची लम्बिन पुगेको हो । शुक्रबार निर्वाचनको कार्यक्रम सम्पन्न नभए शनिबारसम्म सम्मेलन जारी रहन सक्ने बताइएको छ ।
पार्टी निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठले विधान मस्यौदा पारित भएपछि निर्वाचनको सबै कार्यक्रम अगाडि बढाइने जानकारी दिए । आठौँ राष्ट्रिय महाधिवेशन यही पुस ११ देखि प्रज्ञा प्रतिस्ठान कमलादीमा जारी छ । महाधिवेशनको पाँचौँ दिन तथा बन्दसत्रको चौथो दिन शुक्रबार पनि जारी रह्यो । आजको कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट प्रस्तुत ‘२१औँ शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको वैचारिक तथा राजनीतिक दस्तावेज र स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङबाट प्रस्तुत विधान मस्यौदामाथि भएका समूहगत छलफलका निष्कर्षहरु प्रस्तुति भएको थियो ।
माओवादीको केन्द्रीय प्रचार तथा प्रकाशन विभागले आज साँझ महाविधेशनस्थल कमलादीमा आयोजना गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार समूहगत प्रस्तुति सकिएसँगै शुक्रबार पुनः दिउँसो १ बजे पुनः बन्दसत्रको कार्यक्रम सुरु हुनेछ । शुक्रबारको बन्दसत्रमा लेखा, अनुशासन र निर्वाचन आयोगका प्रतिवेदन प्रस्तुत हुने कार्यक्रम छ । आज सम्पर्क मञ्च प्रदेश कमिटीको तर्फबाट कृष्ण अधिकारी, सल्लाहकारहरूको समूह ‘क’ बाट चित्रबहादुर श्रेष्ठ, समूह १३ कर्णाली प्रदेशबाट गोपाल शर्मा, उपत्यका विशेष प्रदेश समूहबाट जगत सिंखडा, समूह १६ सुदूरपश्चिम प्रदेशको तर्फबाट मानबहादुर धामीले समूहगत निष्कर्ष सुनाउनुभएको थियो ।
यस्तै समूह २२ बागमती प्रदेशबाट इन्द्रबहादुर थिङ, समूह ११ गण्डकी प्रदेशबाट देवेन्द्र पराजुली, ज्येष्ठ कम्युनिष्ट मञ्चको समूहबाट नन्दकुमार प्रसाईँ, समूह ८ लुम्बिनी प्रदेशको तर्फबाट सुदर्शन बराल मगर, केन्द्रीय विभागबाट घनश्याम रजक, समूह २५ जनवर्गीय सङ्गठन तथा मोर्चाबाट सुरेश आलेमगरले आफ्नो समूहको धारणा राखेका थिए । त्यस्तै समूह ९, लुम्बिनी प्रदेशबाट नारायण अधिकारी र प्रदेश नं २ बाट भवानी थापाले वैचारिक तथा राजनीतिक दस्तावेज र विधान मस्यौदामाथि आ–आफ्नो समूहमा भएका छलफलको निष्कर्ष प्रस्तुत गरेको प्रचार तथा प्रकाशन विभागका सचिव गोविन्द आचार्यले जानकारी दिए।