१४ औं महाधिवेशनले नेता, कार्यकर्तालाई उर्जा दियो : सह-महामन्त्री राठौर
नेपालगन्ज,पुस १५ । नेपाली कांग्रेसका नवनिर्वाचित सह-महामन्त्री किशोरसिंह राठौरले पार्टीको १४ औं महाधिवेशनले उर्जा दिएको बताएका छन । नेपाल प्रेस युनियन बाँकेले बिहीबार नेपालगन्ज विमानस्थलमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले महाधिवेशनले एकताको सन्देश दिएको बताए ।
राठौरले नेता कार्यकर्ताहरुलाई अब एक ढिक्का भएर लाग्न आह्वान पनि गरे । पार्टी सुदृढ ढंगले अघि बढ्ने उनको विश्वास छ। सह-महामन्त्री राठौरले बाँकेमा हुन लागेको निर्वाचनमा आफुले सर्वसम्मतको प्रयास गर्ने बताए ।
पत्रकारको जिज्ञासामा उनले आगामी चुनावमा एक्लै वा गठबन्धनमा लड्ने भन्ने बारेमा समय अनुसार निर्णय हुने बताए । “सभापति ज्युले प्रधानमन्त्रीका हैसियतले अवश्य पनि सबैलाई मिलाएर जानुहुन्छ, एक्लै वा मिलेर पनि जान सक्ने हुन सक्छ, त्यो कुरा समयले बताउछ ।” राठौरले राष्ट्रिय सहमति कायम गरेर मात्र एमसिसी पारित हुने बताए । अहिले नै एमसिसी पारित नहुने उनले स्पष्ट पारे ।
नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीको सभापतित्वमा आयोजित पत्रकार भेटघाटमा केन्द्रिय सदस्य मैकुलाल वाल्मीकि लगायतको उपस्थिति रहेको थियो ।