बन्दसत्र शुरु अध्यक्ष प्रचण्डद्वारा राजनैतिक प्रतिवेदन पेश हुँदै
काठमाडौ,पुस १२ । नेकपा (माओवादी केन्द्र) को आठौँ महाधिवेशनको बन्द सत्र शुरु भएको छ । बन्दसत्रमा अहिले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले आफ्नो राजनीतिक प्रतिवेदन पेस गर्दैछन् । बिहान ११ बजेदेखि सुरु हुने भनिएको केहि समय ढिलो गरि शुरु भएको छ ।
अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनलाई महाधिवेशनमा सहभागी प्रतिनिधिहरु ले महत्वका साथ लिएका छन ।बन्दसत्रमा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन, विधानलगायतका अन्य प्रतिवेदन पनि पेश हुने स्थायी समिति सदस्य जनार्दन शर्माले जानकारी दिए।अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि सामूहिक छलफल हुने जनाइएको छ । बन्दसत्रमा कूल एक हजार ६ सय ३१ प्रतिनिधि तथा पर्यवेक्षक सहभागी छन । सबै क्लस्टर मिलाउँदा त्यो सङ्ख्यामा अझै केही वृद्धि भएको बताइएको छ । सात भौगोलिक प्रदेश र तीन गैरभौगोलिक प्रदेशबाट प्रतिनिधि सम्मेलनमा सहभागी छन् ।
माओवादी केन्द्रको हिजो बिहान बसेको केन्द्रीय समितिको बैठकले १५ पदाधिकारीसहित २ सय ९९ सदस्यीय केन्द्रीय समिति निर्वाचन गर्ने निर्णय गरेको थियो । हलको क्षमताभन्दा बढी प्रतिनिधि भएपछि व्यवस्थापनमा चुनौती थपिएको छ ।राजनीतिक प्रतिवेदन, विधान पारितसँगै नयाँ नेतृत्वको चयन गर्ने कार्यसूची रहेको माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए । राष्ट्रिय सम्मेलनको आयोजना गरेको माओवादीले शनिबार मात्रै महाधिवेशनमा रुपान्तरण गरेको थियो ।
केन्द्रीय समितिको बैठकले शनिबार स्थायी समितिले गरेको निर्णयलाई अनुमोदन गरेको थियो । नेपाली मौलिकतासहितको समाजवाद निर्माण गर्ने जनाएको माओवादीले बन्दसत्रलाई व्यवस्थित बनाउन आवश्यक तयारी गरिएको उल्लेख गरेको छ ।