आउदो चुनावसम्म संसद अवरोध हुन्छ : ओली
काठमाडौं, पुस १० । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अर्को चुनाव नभएसम्म संसद अवरोध गरिरहने बताएका छन् । शनिबार विराटनगरस्थित विमानस्थलमा पत्रकारसँगको भेटमा यस्तो बताएका हुन् ।
अध्यक्ष ओलीले चुनावबाट अर्को संसद नआएसम्म संसदु अवरोध कायम रहने बताए । पछिल्लो समय एमालेले संसद् अवरोध गरिरहेको छ । पार्टीले कारबाही गरेका सांसदहरुलाई संसद्ले नमानेको भन्दै एमालेले संसद् अवरोध जारी राखेको छ । यही सन्दर्भमा पत्रकाहरुले संसद अवरोध कहिलेसम्म भनेर आज प्रश्न सोधेका थिए। त्यसको जवाफमा ओलीले चुनावसम्म भनेर जवाफ दिए । अध्यक्ष ओलीले अहिले बलजफ्ती संसद चलाईएको आरोप लगाए ।
अध्यक्ष ओली पार्टी काममा झापा पगेका छन् । ओली झापामा पार्टीले आयोजना गर्ने कार्यक्रममा सहभागी हुनको लागि आज त्यहाँ पुगेका हुन् । उनी झापामा तीन दिन रहने जनाईएको छ । पार्टीको झापा जिल्ला कमिटीद्वारा आयोजित विविध कार्यक्रममा भाग लिन, अनेरास्ववियुको सचिवालय बैठकलाई सम्बोधन गर्न र विकास निर्माणसँग सम्बन्धित विषयमा जानकारी लिन तीन दिनका लागि ओली गृहजिल्ला झापा पुगेको पार्टीले जनाएको छ ।