सांसद लामाद्धारा बेलकोटगढीको २ वटा विद्यालयमा न्यानो कपडा वितरण
नुवाकोट,पुस ९ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् संघीय सांसद बहादुरसिंह लामाले बेलकोटगढी नगरपालिका वडा नम्बर ७ मा रहेको २ वटा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेका छन । महादेवफाटमा अवस्थित महादेव माध्यमिक विद्यालयमा अध्ययनरत ६ सय २५ र ढकालथोकमा अवस्थित श्री जन सामुदायिक विद्यालयमा अध्ययनरत २५ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका हुन् ।
न्यानो कपडा वितरण कार्यक्रमलाई सम्बोधन गर्नुहुदै सांसद लामाले विकास निर्माणको कार्यलाई भोटसँग साट्ने प्रवृतिको अन्त्य हुनुपर्ने बताएका छन् । विकासको पहिलो खुड्किलो नै शिक्षा रहेकोले सबैको चासो र प्रयासले मात्रै गुणस्तरीय शिक्षा प्रवाह हुने बताउदै उनले सरकारी विद्यालयको शैक्षिक स्तर सुधार गर्न सकिएमा निजि विद्यालयमा अध्ययनरत विद्यार्थीहरुसँग प्रतिष्पर्धा गर्न सक्ने विद्यार्थी उत्पादन गर्न सकिने बताएका छन् ।
संघिय सांसदमा निर्वाचित भए पश्चात प्राप्त तलव भत्तालाई गुरुयोजना बनाएर लगानी गर्ने योजना अनुसार उनले विद्यार्थीलाई अध्ययन गर्नलाई थप हौसला प्रदान गर्नलाई निरन्तर रुपमा विद्यालयहरुमा शैक्षिक सामाग्री र विद्यालय पोषाक वितरण गर्दै आएका छन् । उक्त कार्यक्रममा नेपाली काङ्ग्रेस नुवाकोटका उपसभापति राजु थापा, सहसचिब यादब नेपाल, नेपाली काङ्ग्रेस नुवाकोटको क्षेत्र नम्बर २ को क्षेत्रीय सभापति जगतबहादुर तामाङ, बेलकोटगढी नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष हेमनिधि नेपाल, विद्यालयका प्रध्यानाध्यापक उपेन्द्र महतो, शिक्षा प्रेमी बिष्णु नेपाल, पुर्ब विद्यार्थी गमला लामा लगायतको सहभागिता रहेको थियोे ।