विद्यार्थी संगठनलाई विद्यार्थीको मुद्दाबाट पर बस्ने छुट छैन-भट्टराई



काठमाडौं,पुस ८ । नेकपा ऐकिकृत समाजवादीका पोलिटब्युरो सदस्य एवं विद्यार्थी फाँट प्रमुख रामकुमार भट्टराईले विद्यार्थी संगठनलाई विद्यार्थीको मुद्दाबाट पर बस्ने छुट नभएको बताएका छन् ।

नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियू केन्द्रीय कमिटिले बिहीबार थापाथली क्याम्पसमा आयोजना गरेको संगठनको प्रवेश तथा विशेष भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि भट्टराईले हरेक शैक्षिक संस्थामा अनेरास्ववियूको कमिटी निर्माण गरी विद्यार्थीका हरेक मुद्दा, शैक्षिक मुद्दालाई प्रमुख एजेन्डा बनाएर अघि बढ्न निर्देशन दिएका छन् ।

संगठनका केन्द्रीय अध्यक्ष सुदेश पराजुलीले ‘अब मण्डले प्रवृत्ती भएका विद्यार्थी संगठन हुँ र नेता हु भन्ने संगठनहरुलाई आम विद्यार्थीहरुले लात हान्नेछन् भन्दै उनले आफ्नो संगठनप्रति विद्यार्थीको आकर्षण बढेको बताए ।’ उनले आफ्ना विद्यार्थी नेता कार्यकर्तालाई विद्यार्थीको एजेन्डामा रही विद्यार्थीको हकहितको पक्षमा काम गर्न अनुरोध गरे ।

सो अवसरमा नेकपा एमाले निकट अनेरास्ववियुका सचिवालय सदस्य आर्जन वाग्ले सहित अनेरास्ववियू थापाथली क्याम्पसका क्यापस कमिटिका सदस्यहरू, नेविसं तथा अखिल क्रान्तिकारी परित्याग गरि दर्जनौं विद्यार्थी नेता अनेरास्ववियूमा प्रवेश गरेको अनेरास्ववियूका उपमहासचिव अशोक थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्