पाँच दलीय सत्ता गठबन्धन आगामी निर्वाचनसम्म कायम रहन्छ : अध्यक्ष नेपाल
नेपालगन्ज,पुस ८ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय सत्ता गठबन्धन आगामी निर्वाचनसम्म कायमै रहने बताएका छन् ।
समाजवादी प्रेस सङ्गठन नेपाल बाँके शाखाले आज बाँकेको कोहलपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले आगामी निर्वाचनमा लोकतान्त्रिक वामपन्थी शक्तिलाई एकताबद्ध बनाएर लैजाने पक्षमा आफू रहेको बताए । उनले एमसीसीको बारेमा कार्यदलले विस्तृत छलफल गरेपछि सत्ता गठबन्धनले थप निर्णय लिने बताए ।
अध्यक्ष नेपालले नेपाली जनताको विश्वास जित्ने गरी आफूहरू अघि बढ्ने उल्लेख गरे । प्रतिगमन आफ्नो पार्टीलाई कुनै हालतमा स्वीकार्य नहुने भन्दै उनले त्यसका विरुद्ध निरन्तर सङ्घर्ष भइरहने बताए ।