शिवपुरीका ४१ विद्यार्थीलाई टिका – कमला थापा स्मृति संस्थाद्वारा छात्रवृत्ति प्रदान
नुवाकोट,पुस २ । जिल्लाको शिवपुरी गाउँपालिकामा रहेको एक संस्थाले विभिन्न विद्यालयका विद्यार्थीलाई नगदसहित सम्मान गरेको छ। गाउँपालिकाको वडा नम्बर ४ मा रहेको टिका – कमला थापा स्मृति संस्थाले विभिन्न विद्यालयका अध्ययनशील ४१ जना विद्यार्थीलाई नगदसहित प्रमाणपत्र प्रदान गरेको हो।
शिवपुरी गाउँपालिका भित्रका माध्यमिक तथा निम्नमाध्यमिक तह कक्षा ७,८ र ९ मा प्रथम भइ अध्ययनरत ४१ विद्याथीलाई छात्रवृतिस्वरुप जनही रु ५०००/ का साथै सम्मानपत्र प्रदान गरेको सो संस्थाका अध्यक्ष राम थापाले बताए ।
संस्थाका अध्यक्ष थापाका अनुसार वार्षिक कार्यक्रम स्वरुप विभिन्न विद्यालयका अध्ययनशील विद्यार्थीलाई सम्मान गरेको हो। गाउँपालिकाका शिक्षा शाखाका प्रमुख समेत रहेका राम थापाका टीका थापा माता र कमला थापा सहोदर बहिनी हुन्। प्रमुख थापाले यस क्षेत्रमा रहेका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीको शैक्षिक विकासका निम्ति यसअघि नै विविध शैक्षिक कार्यक्रम गर्दै आएका छन् । साझापथसंग कुराकानी गर्दै संस्थाका अध्यक्ष थापाले विद्यालय तहमा मिहेनत गर्ने बालबालिकालाई थप उत्प्रेरणा मिलोस भन्ने हेतुका साथ नगदसहित सम्मान गरेको बताए।
सो छात्रवृत्ति वितरण समारोहमा गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापा, उपाध्यक्ष मन्जु केसी र संस्थाका संरक्षक यज्ञबहादुर थापाको प्रमुख आतिथ्यता रहेको थियोे। गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाले विद्यालयीय तहमा यसप्रकारको शैक्षिक कार्यक्रमको आयोजनाले आफुलाई हर्षित बनाएको बताए। आगामी दिनमा समेत यस्ता सहयोगी तथा लोकप्रिय कार्यक्रमको गाउँपालिकाले अपेक्षा गरेको अध्यक्ष थापाले बताए।