विकासका लागि बुझाइमा परिवर्तन आवश्यक : अर्थमन्त्री



काठमाडौं,पुस १। अर्थमन्त्री जनार्दन शर्माले नेपालको विकास नहुनुमा पूँजी अभावभन्दा पनि बुझाइ कारक रहेको बताएका छन् । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले मंगलवार आयोजना गरेको ‘स्टेकहोल्डरहरूको भेटघाट तथा निफ्राको आगामी रणनीतिक यात्रा’ विषयक छलफल कार्यक्रममा अर्थमन्त्री शर्माले विकासका लागि सबैको बुझाइ परिवर्तन हुनुपर्नेमा जोड दिए ।

विकासमा स्पष्ट धारणा नहुँदा विकासले गति लिन नसकेको भन्दै उनले पहिले सरकारको र सरोकारवाला सबैले विकासबारे सकारात्मक धारणा बनाउनुपर्ने बताए । ‘नेपालको सन्दर्भमा विकास गर्न पूँजीको समस्या होइन भन्ने मेरो धारणा छ । समस्या बुझाइको हो,’ उनले भने, ‘हामीले विकास सम्बन्धी धारणा स्पष्ट बनाउन जरुरी छ । स्पष्ट धारणा भनेको सरकारकै हुनुपर्‍यो, समाजको हुनुप¥यो, लगानीकर्ताको हुनुप¥यो, निजीक्षेत्रको हुनुपर्‍यो ।’ स्पष्ट धारणासँगै काम गर्ने इच्छाशक्ति र दूरदृष्टि हुनुपर्ने पनि उनले बताए ।

मन्त्री शर्माले सबैलाई उत्साहित बनाउने नीति बनाउँदा लगानीका लागि नेपालभित्रै पूँजी धेरै रहेको धारणा राखे । हरेक व्यक्तिसँग रहेको पैसालाई एकीकृत गर्न सक्दा ठूलो पूँजीको निर्माण हुने उनको भनाइ छ । ग्रामीण क्षेत्रमा पनि पूँजी छरिएर रहेको उनले बताए । ‘अहिले भर्खरै स्थानीय तहमा पनि बैंक पुगेर अलिअलि त्यहाँ पैसा राख्ने चलन बढेको छ,’ उनले भने, ‘तर अझै पनि घरको दलिनमाथि पैसा राख्ने चलन छँदै छ ।’ त्यसरी ग्रामीण क्षेत्रमा रहेको पूँजीलाई समेत लगानीका लागि आकर्षित गर्ने नीति निर्माण गर्नुपर्नेमा उनले जोड दिए ।

विद्यमान नीति नै ढिलासुस्ती गराउने किसिमको रहेकाले नीति निर्मातामा पहिले विचार परिवर्तनको आवश्यकता रहेको मन्त्री शर्माले औंल्याए । विकासको सोच नहुँदा समस्या भएको पनि उनले बताए । विकासका लागि पूँजी, ज्ञान, प्रविधिसँगै नीतिसमेत आउने भएकाले नीति सरल र सहज हुनुपर्ने उनको भनाइ छ । ‘नीतिहरू नै विकासलाई ढिलो गर्ने खालका बनेका छन्,’ उनले भने, ‘हाम्रा यस्ता पनि नीति छन्, जुन सरकारको एउटा योजनाका लागि वन मन्त्रालयलगायत अन्यसँग स्वीकृति लिनुपर्छ । रूख काट्न विद्युत् प्राधिकरणले दुई वर्ष स्वीकृतिका लागि कुर्नुपर्ने अवस्था पनि छ ।’

पूर्वाधार निर्माणमा हुने पूँजी अभावलाई परपूर्ति गर्न निफ्रा जस्तो संस्थालाई बलियो बनाएर अगाडि लैजानुपर्ने अर्थमन्त्री शर्माले बताए । यस्तो संस्थालाई सक्षम बनाउँदा पूँजी निर्माणमा भइरहेको रिक्तता पुरिने भन्दै उनले निफ्रालाई अझ बलियो बनाउनुपर्ने बताए । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्