शोधनान्तर घाटा १ महीनामै दोब्बर
सजग हुने बेला आएको छ : राष्ट्र बैंक
काठमाडौं,पुस १ । पछिल्लो समय मुलुकको अर्थतन्त्र झन् बिग्रँदै गएको देखिएको छ । शोधनान्तर स्थिति, मुद्रास्फीति, विप्रेषण आप्रवाह, विदेशी मुद्रा सञ्चिति, व्यापारघाटालगायत सूचक हेर्दा अर्थतन्त्रमा झनै संकटतर्फ उन्मुख भएको देखिएको हो ।
चालू आर्थिक वर्षको शुरू अर्थात् साउनदेखि नै अर्थतन्त्रका विभिन्न सूचकमा नकारात्मक संकेत देखापरेका थिए । यसले कात्तिक मसान्तसम्म निरन्तरता पाएको छ ।
नेपाल राष्ट्र बैंकले बिहीवार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति विषय कात्तिक मसान्तसम्मको पछिल्लो समय आर्थिक अवस्था अझै बिग्रँदै गएको देखिएको छ ।
प्रतिवेदनअनुसार कात्तिकमा मूल्य वृद्धि ≈वात्तै बढेको छ । गत असोजमा ४ दशमलव २४ प्रतिशत रहेको मूल्य वृद्धि कात्तिकमा १ दशमलव ०८ प्रतिशत विन्दुले बढेर ५ दशमलव ३२ प्रतिशत पुगेको छ । गत आवको कात्तिक महीनामा मूल्य वृद्धि ४ दशमलव ०५ प्रतिशत मात्र थियो ।
चालू आवको समीक्षा महीनामा खाद्य तथा पेय पदार्थ समूहका मूल्य वृद्धि ४ दशमलव ७९ प्रतिशत र गैरखाद्य तथा सेवासमूहको मूल्य वृद्धि ५ दशमलव ७३ प्रतिशत पुगेको छ ।
समीक्षा अवधिमा शोधनान्तर घाटा पनि १ खर्ब ५० अर्ब ३८ करोड पुगेको छ । असोज मसान्तसम्म शोधनान्तर स्थिति रू. ७६ अर्ब १४ करोडले घाटामा थियो । पछिल्लो १ महीनामा नै यस्तो घाटा दोब्बर भएको राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ । गत आवको सोही अवधिमा भने शोधनान्तर स्थिति रू. १ खर्ब १० अर्ब ६५ करोडले नाफामा थियो ।
पछिल्लो समय विदेशी मुद्रा आर्जन व्यापक मात्रामा हुन सकेको छैन । तर, विदेशी मुद्रा जाने माध्यम अर्थात् आयात भने उच्च मात्रामा बढेको छ । विप्रेषण र निर्यातबाट आउने विदेशी मुद्राले आयातलाई थेग्न नसकेको अवस्था छ । फलस्वरूप शोधनान्तर घाटा बढ्न गएको हो ।
त्यसैको असरले विदेशी मुद्रा सञ्चिति पनि घट्दो क्रममा रहेको देखिएको हो ।
कात्तिक मसान्तसम्म आउँदा विदेशी मुद्रा सञ्चिति १२ खर्ब ४४ अर्ब ८ करोड रुपैयाँमा कायम भएको छ । गत असोज मसान्तसम्म यस्तो सञ्चिति रू. १३ खर्ब १९ अर्ब ३२ करोड बराबर थियो । समीक्षा अवधिमा गत आवमा रू. १५ खर्ब ०६ अर्ब ६ करोड बराबरको विदेशी मुद्रा सञ्चिति थियो ।
कात्तिक महीनासम्मको विदेशी मुद्रा सञ्चितिले ७ दशमलव २ महीनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाल बताउँछन् । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत न्यूनतम ७ महीनाका लागि वस्तु तथा सेवा आयात धान्न पुग्नेगरी विदेशी मुद्रा सञ्चित गर्ने लक्ष्य लिएको थियो । त्यसैले यस विषयमा आत्तिनुपर्ने अवस्था नभएको उनले बताए ।
‘अब मौद्रिक नीतिको लक्ष्यअनुसार विदेशी मुद्रा सञ्चिति गर्न भने चुनौतीपुर्ण हुनेछ,’ उनले भने, ‘अब आयातलाई निरुत्साहित गर्ने र निर्यात प्रोत्साहन गर्नेगरी नीति ल्याउनुपर्छ । यसमा राष्ट्र बैंक पनि सकारात्मक छ ।’
अनावश्यक वस्तु तथा सेवाको आयातलाई तत्काल कडाइ गर्नुपर्ने उनको भनाइ छ । यसमा राष्ट्र बैंकले पनि आफ्नो ठाउँबाट सक्दो नीतिगत व्यवस्था गर्ने उनले बताए । कात्तिक मसान्तसम्म चालू खाता घाटा बढ्ने क्रमले पनि निरन्तरता पाएको छ । गत असोजमा १ खर्ब ५१ अर्ब ७० करोड रहेको चालू खाता घाटामा कात्तिक मसान्तसम्म आइपुग्दा २ खर्ब २३ अर्ब १९ करोड पुगेको छ । गत आवको सोही अवधिमा भने यस्तो खाता रू. १९ अर्ब १ करोडले बचतमा रहेको थियो । यसरी समीक्षा अवधिमा शोधनान्तर घाटा र चालू खाता घाटा ह्वात्तै बढेको छ । समीक्षा अवधिमा विप्रेषण आप्रवाह घट्ने क्रमले पनि निरन्तरता पाएको छ । दशैं र तिहारको कारण असोज र कात्तिकमा अघिपछि भन्दा बढी विप्रेषण आउने गर्छ । तर, चालू आवको कात्तिकमा विप्रेषण आम्दानी घटेको छ । यस अवधिमा विप्रेषण आप्रवाह ७ दशमलव ५ प्रतिशतले घटेर ३ खर्ब १२ अर्ब ४२ करोडमा सीमित भएको छ । गत आवको सोही अवधिमा विप्रेषण आप्रवाह ११ दशमलव २ प्रतिशतले बढेर रू. ३ खर्ब ३७ अर्ब ७२ करोड पुगेको थियो । तर, अहिले भने विप्रेषण आप्रवाह घटेको छ । विदेशबाट अनौपचारिक माध्यमबाट पनि पैसा आउन थालेपछि विप्रेषण आप्रवाह घटेको हुन सक्ने राष्ट्र बैंकको अनुमान छ । गत आवमा कोरोना नियन्त्रण गर्न लगाइएको बन्दाबन्दी कारण अनौपचारिक रूपमा आउने पैसा पनि औपचारिक रूपमा आउने गरेको थियो । तर, अहिले पुनः हुन्डीजस्ता अनौपचारिक कारोबार हुन थालेको राष्ट्र बैंकको अनुमान छ । वृद्धिदर घटे पनि रकमका आधारमा विप्रेषण आप्रवाह सन्तोषजनक नै भएको राष्ट्र बैंकका कार्यकारी निर्देशकसमेत रहेका ढकाल बताउँछन् ।
समीक्षा अवधिमा वैदेशिक व्यापारघाटा ५६ दशमलव ८ प्रतिशतले बढेर ५ खर्ब ६८ करोड रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा भने यस्तो घाटा १२ दशमलव ५ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा आयात ६१ दशमलव ६ प्रतिशतले बढेर रू. ६ खर्ब ५० अर्ब २९ करोड पुगेको छ । निर्यात भने १०४ दशमल.३ प्रतिशतले बढेर ८२ अर्ब १२ करोड पुगेको छ ।
राष्ट्र बैंकका कार्यकारी निर्देशक ढकालले समीक्षा अवधिमा अर्थतन्त्रको अवस्था राम्रो नदेखिएको बताए । ‘अहिले हामी कोभिडपछिको पुनरुत्थानको चरणमा छौं, त्यसको असरले पनि यस्तो हुन सक्छ । किनकी, पुनरुत्थानका क्रममा आयातहरू बढेको छ,’ उनले भने, ‘आत्तिनुपर्ने अवस्था छैन । तर, सजक हुनुपर्ने बेला भने पक्कै आएको हो ।’
समीक्षा अवधिमा अर्थतन्त्रका अधिकांश सूचक नकारात्मक देखिए पनि भ्रमण आय र वैदेशिक लगानी भने बढेको छ । समीक्षा अवधिमा भ्रमण आय २२३ दशमलव ५ प्रतिशतले बढेर रू. ६ अर्ब ११ करोड पुगेको छ । गत आवको समीक्षा अवधिमा यस्तो आय रू.१ अर्ब ८९ करोड रहेको थियो । यस्तै, खुद प्रत्यक्ष वैदेशिक लगानी ७७ प्रतिशतले बढेर रू. ६ अर्ब ६३ करोड पुगेको छ । गत आवको सोही अवधिमा यस्तो लगानी रू. ३ अर्ब ७५ करोड रहेको थियो । आर्थिक अभियानबाट