एक कन्टेनर छाला डेढ महीनादेखि सुक्खा बन्दरगाहमा



वीरगञ्ज,पुष १ । बारा–पर्सा औद्योगिक कोरिडोरको एक उद्योगले गतल विवरण घोषणा गरेर निकासी गर्न लागेको १ कन्टेनर छाला वीरगञ्ज सुक्खा बन्दरगाहमा डेढ महीनादेखि थन्किएको छ । कोरिडोरमा हालै खुलेको चिनियाँ लगानीको अन्नपूर्ण लेदर टेनिङ इन्डस्ट्रिजले एचएस कोड र उत्पादन फरक पारेर निकासी गर्न लागेको छाला भन्सारले रोकेको हो ।

भन्सारले जाँचपास गरिसकेको छाला अन्य केही उद्योगीले उजुरी गरेपछि भन्सार आफैले रोकेको थियो । उद्योगीहरूले नै उक्त छाला प्रतिबन्धित भएको दाबी गरेपछि रेलमा लोड गर्न तयारी अवस्थामा राखिएको छाला रोक्न भन्सार बाध्य बनेको हो । भन्सार जाँचपास गरेर कस्टम ट्रान्जिट डिक्लियरेन्स (सीटीडी) समेत तयार पारेको १ कन्टेनर छाला विवादित भएपछि डेढ महीनादेखि भन्सारको गोदममा थन्किएको छ । भन्सारले सो छाला कन्टेनरबाट अनलोड गर्न लगाएर गोदाममा राखेको हो ।

छाला के गर्ने भन्नेमा बन्दरगाह भन्सार यतिबेला अन्योलमा परेको छ । भन्सार प्रमुख लालबहादुर खत्री रोकिएको छाला अब के गर्ने भन्ने बारेमा अन्योल भएको बताउँछन् । ‘छाला पुनः परीक्षणको लागि पठाउने कि जफत गर्ने भन्ने विषयमा भन्सार विभागसँग समन्वय भइरहेको छ,’ उनले भने ।

भन्सारले ओओसीयु ८५४६३०२ नम्बरको छाला लोड भएको ४० फिटको कन्टेनरमा ओओएल इभीजे ७७८६ नम्बरको सील लगाइसकेको छाला विवादित भएपछि भन्सारले नेपाल लेदर टेनर्स एशोसिएशनका पदाधिकारीहरूलाई बोलाएर छालाको नमूना देखाएको थियो । उद्यमीले उक्त उद्योगले प्रतिबन्धित छाला निकासी गर्न लागेको दाबी गरेका थिए । छालाको नमूना प्रज्ञापनमा उललेख गरिएको एचएस कोडभन्दा फरक रहेको भन्दै निकासी गर्न नमिल्ने बताएका थिए । उद्योगीहरूले छालाको नमूना परीक्षण गर्न सुझाव पनि दिएका थिए ।

एचएस कोड ४१०१९०००००० मा बफेलो लेदर स्प्लीटेड उल्लेख गरेर निकासी गर्न लागेको छालाको कोड र उत्पादन फरक रहेको छाला उद्यागीहरूको दाबी छ । उक्त कोडमा काँचो छाला, नुन लगाएको, सुकेको, चुना हालेर रौं सफा गरेकोलगायत छाला पर्ने उनीहरूको भनाइ छ । गलत विवरण उल्लेख गरेर उक्त छाला इन्डोनेसिया पठाउन लागिएको थियो । भन्सारले त्यसअघि पनि सोही एचएस कोडमा छाला जाँचपास गरेको खुलासा भएको छ ।

भन्सार प्रमुख खत्रीका अनुसार यो उद्योगले यसअघि पनि सोही एचएस कोडमा २ कन्साइन्मेन्ट छाला निकासी गरिसकेको छ ।

गत फागुनमा सुक्खा बन्दरगाह भन्सारले छालाको नमूना पठाएर भन्सार विभागसँग राय मागेको थियो । भन्सारले त्यसबेला लेदर स्प्लीटेड (छालाको माथिल्लो तह) उल्लेख गरेर नमूना पठाएकोमा भन्सार विभागले लेदर स्प्लीट (तल्लो तह) भएको र नाँगो आँखाले हेर्दा काँचो छालाजस्तो नदेखिने भन्दै घुमाउरो जवाफ फर्काएको थियो ।

त्यही पत्रका आधारमा भन्सारले जाँचपास गरेको थियो । उद्योगीका अनुसार स्प्लीटेड छाला निकासी गर्दा वेट ब्लु, क्रस्ड वा फिनिस्डसमेत उल्लेख गर्नुपर्छ । भन्सारले जाँचपास गरेको छला उक्त कुनै पनि वर्गमा नपर्ने उद्योगीहरूले बताएका छन् ।

उद्योगले वेट ब्लु, क्रस्ड्स, फिनिस्ड, भेजिटेबल टेनेड र लेदर स्प्लीड उत्पादनको अनुमति पाएको छ । अनुमतिका आधारसमेत सो नियकासी अवैध हुने दाबी उनीहरूको छ । भन्सारले जाँचपास गरेको छाला ४ प्रकारका रसायन प्रयोग गरेर तयार प्रशोधन गरिएको पिकल लेदर हो । उद्योग वणिज्य तथा आपूर्ति मन्त्रालयले यो कोडमा उल्लिखित छाला निकासीमा रोक लगाएको छ । निकासी अनुमतिप्राप्त तहको वेटब्लु छालामा १० प्रकारका रसायन प्रयोग हुन्छ । यस्तो छालाका वस्तु बनाउन प्रयोग हुन्छ । भन्सारमा रोकिएको छाला कुकुरको आहारा बनाउन प्रयोग हुन्छ ।

भन्सारमाथि प्रश्न
प्रतिबन्धित छाला भन्सारबाट कसरी जाँचपास भयो भन्ने प्रश्न उठेको छ । भन्सार विभागले लेखेको गोलमटोल पत्र र त्यसकै आधारमा विगतमा समेत प्रतिबन्धित छाला निकासी भएको रहस्य खुलेपछि भन्सार पनि शंकाको घेरामा तानिएको हो ।

भन्सार अधिकारीहरू भने ग्रीन च्यानलमा पर्ने छाला निकासीमा कागजपत्रमात्रै हेरिने दाबी गर्छन् । भन्सार प्रमुख खत्री ग्रीन च्यानलमा निर्यातकर्ताले घोषणा गरेको कागजातमात्रै हेरेर जाँचपास गरिने र यो च्यानलमा पर्ने बस्तु भन्सार अधिकारीले परीक्षणको नाममा अड्काउन नमिल्ने बताउँछन् । घोषणाभन्दा वस्तु फरक भेटिएको अवस्थामा स्वयम् निकासीकर्ता जिम्मेवार हुनुपर्ने र कारबाहीको भागीदार हुने दाबी उनले गरे । गतवर्ष पनि सुक्खा बन्दरगाहबाट पास भएर गएको ३ कन्टेनर छाला भारतको कोलकाता बन्दरगाहले जफत गरेको थियो । त्यतिबेला निकासी गर्ने पनि चिनियाँ उद्योगी नै थिए । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्