नुवाकोट पञ्चकन्यामा तेस्रो चेयरमेन कप भलिबल प्रतियोगिता आजदेखि सुरु



नुवाकोट,मंसिर २८। जिल्लास्थित पञ्चकन्या गाउँपालिकाको आयोजनामा आजदेखि ‘तेस्रो चेयरमेन कप भलिबल प्रतियोगिता सुरु भएको छ।पौष ३ गतेसम्म हुने प्रतियोगिताको उद्घाटन गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङले गरेका हुन।  ‘खेल र खेलाडीबाट सिकौं अनुशासन र स्वाभिमान, समृद्ध पञ्चकन्या निर्माण हाम्रो अभियान’ भन्ने नारासहितको आयोजना भएको अन्तरपालिकास्तरीय  भलिबल प्रतियोगिताको उद्घाटन गर्दै अध्यक्ष तामाङले समग्र पञ्चकन्या गाउँपालिकाको बिकासका निम्ति आफू हरतरहले लागि परेको बताए ।

पछिल्लो खेलकुद कार्यक्रम तामझामपुर्ण तरिकाले केन्द्रिय नेताको उपस्थितिमा उद्घाटन भएकोमा यस वर्ष भने गाउँपालिकाले ब्रेक गरेको छ। अध्यक्ष तामाङले हामीसंगको वार्तालापमा सधै केन्द्रको पर्खाइमा बस्न हुन्न, आफ्नो गाउँठाउँ बिकासको निम्ति आफै लागि पर्नुपर्ने बताए। उद्घाटन समारोहमा गाउँपालिकाका विभिन्न वडाका अध्यक्ष, गैरसरकारी संस्थाका प्रतिनिधिहरु, स्थानीय विद्यालयका शिक्षक/विद्यार्थीको उल्लेख्य सहभागिता रहेको थियोे।

गाउँपालिकाको वडा २ मा रहेको कालिका माध्यमिक विद्यालयको प्रांगणमा आजदेखि सुरु भएको प्रतियोगतामा सहभागी हुन बुधबारसम्म ५ टिम दर्ता भैसकेको छ। बुधबार उद्घाटनसत्रमा भने पञ्चकन्या गाउँपालिकाको “ए” टीम र दुप्चेश्वर गाउँपालिकाको “ए” टीमको रोमाञ्चक खेल भएको थियोे ।

पुष ३ गते समापन हुने प्रतियोगितामा प्रथमलाई १ लाख, द्वितीयलाई ७५ हजार र तृतीयलाई ५० हजार रुपैयाँ पुरस्कार दिइनेछ । 

प्रतिक्रिया दिनुहोस्