कांग्रेस सभापति पदको दोस्रो चरणको मतदान सकियो, ४५६४ मत खस्यो

काठमाडौँ,मंसिर २८। नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि मंगलबार भएको दोस्रो चरणको मतदान सकिएको छ ।
मंगलबार मध्याह्न साढे तीन बजेदेखि सुरु भएको मतदान निर्धारित समयभन्दा डेढ घन्टा ढिला राति ९ बजे सम्पन्न भएको हो । उक्त मतदानको मतगणना केही बेरमा सुरु हुने पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
मतदानमा चार हजार ७४३ मतदातामध्ये चार हजार ५६४ ले मतदान गरेका छन् । सोमबारको तुलनामा आजको मतगणना सुरु गर्दा कम समय लाग्ने बताइएको छ ।