नेपाली काङ्ग्रेस महाधिवेशन: दोस्रो चरणको मतदानको गणना राति १० बजेबाट

काठमाडौं,मंसिर २८ । नेपाली कांग्रेसको जारी महाधिवेशन अन्तर्गत दोस्रो चरणमा भइरहेको मतदानको गणना आजै गरिने भएको छ ।
मंगलबार साढे ३ बजे देखि सुरु भएको मतदानका लागि साढे सात बजेसम्मको समय तोकिएको छ । मतदान सकिएपछि आजै राति १० बजेबाट गणना सुरु हुने कांग्रेस चौधौं राष्ट्रिय महाधिवेशन मिडिया सेन्टर संयोजक डा. सुरेश आचार्यले जानकारी दिए ।
सोमबार भएको मतदानमा सभापतिका कुनै पनि उम्मेदवारले जितका लागि आवश्यक ५० प्रतिशत भन्दा धेरै मत नपाएपछि आज दोस्रो चरणमा मतदान भइरहेको हो । पहिलो चरणमा धेरै मत ल्याएका दुई उम्मेदवार शेरबहादुर देउवा र शेखर कोइरालाबीच दोस्रो चरणमा प्रतिस्पर्धा भइरहेको छ ।
देउवालाई पहिलो चरणमा उम्मेदवार रहेका विमलेन्द्र निधि, प्रकाशमान सिंह र कल्याण गुरुङले समर्थन गरेका छन् ।