३२०० विन्दु नजिक पुगेको नेप्से २३०० विन्दुमुनि



लगानीकर्ताहरूको सम्पत्तिको मूल्य करीब १३ खर्ब घट्यो

काठमाडौं,मंसिर २८ । नेपालको पूँजीबजारकै इतिहासमा ऐतिहासिक रेकर्ड कायम गरेको नेप्से परिसूचक पछिल्लो समय निरन्तर घटिरहेको छ । भदौ २ गते ३ हजार १९८ दशमलव ६० को विन्दुमा बन्द भएको नेप्से परिसूचक मङ्सिर २७ गतेसम्ममा २८ दशमलव ६७ प्रतिशत घटिसकेको छ ।

सोमवार नेप्से परिसूचक २ हजार २८१ दशमलव ६७ विन्दुमा बन्द भएको छ । नेप्से परिसूचक उच्च अंकबाट ९१६ दशमलव ९३ अंकले घटिसकेको छ । यस बीचमा लगानीकर्ताको सम्पत्तिको मूल्य पनि रू. १२ खर्ब ६० अर्ब ७२ करोडभन्दा बढीले घटेको छ ।

नेप्सेले हालसम्मकै उच्च विन्दु कायम गरेको दिन भदौ २ गते लगानीकर्ताको सम्पत्तिको मूल्य अर्थात् कुल बजार पूँजीकरण हालसम्मकै उच्च रू. ४४ खर्ब ६८ अर्ब ५० करोड ५३ लाख कायम भएको थियो । सोमवार यो रकम रू. ३२ खर्ब ७ अर्ब ७८ करोड १० लाखमा झरेको छ ।

सोमवार नेप्सै अघिल्लो कारोबार दिनको तुलनामा ३ दशमलव ३७ प्रतिशत घटेर २ हजार ३०० विन्दुमुनि पुगेको छ । यो दिन बजारमा रू. ३ अर्ब ९९ करोड ५६ लाख ४ हजार बराबरको ९६ लाख ७९ हजार ७२ कित्ता धितोपत्र कारोबार भएको छ ।

यो दिन २२३ कम्पनीहरूको धितोपत्र कारोबार भएको थियो । अघिल्लो दिनको तुलनामा सोमवार कारोबार रकम भने बढेको छ । आइतवार २२८ कम्पनीहरूको रू. ३ अर्ब ३८ करोड २५ लाख ९ हजार बराबरको कारोबार भएको थियो । सोमवार जम्मा १२ कम्पनीहरूको मात्र धितोपत्रको मूल्य वृद्धि भएको छ ।

कोभिडका कारण अन्य क्षेत्रका व्यापार व्यवसाय बन्द भएसँगै १ हजार १०० विन्दुबाट उकालो लागेको धितोपत्र दोस्रो बजार पछिल्लो समय अन्य व्यापारिक क्षेत्र सुचारु भएसँगै प्रभावित बनेको हो । बैंक तथा वित्तीय संस्थाहरूको बढी स्वामित्व रहेको धितोपत्रको दोस्रो बजार त्यस क्षेत्रका नियामक निकाय नेपाल राष्ट्र बैंकको नीतिका कारण बढी प्रभावित बन्ने गर्छ । चालू आर्थिक वर्षको मौद्रिक नीतिमा भएको शेयर धितो कर्जाको सीमाका कारण बजार थप प्रभावित बन्यो ।

नेपाल राष्ट्र बैंकले साना लगानीकर्तालाई प्रोत्साहन गर्ने गरी शेयर धितो कर्जाको सीमा न्यूनतम रू. ४ करोडदेखि अधिकतम रू. १२ करोडसम्म झारेको हो । उक्त व्यवस्था लागू भएपश्चात् ठूला लगानीकर्ताले कर्जाको सीमा घटाउनकै लागी शेयर विक्री गर्दा बजार प्रभावित बनेको सरोकारवालाहरूको भनाइ छ ।साथै, बैंक तथा वित्तीय संस्थाहरूमा लगानीयोग्य कर्जाको अभाव भई ब्याजदर बढेका कारण पनि धितोपत्र दोस्रो बजारमा लगानी कम हुन थालेको हो ।

सूचनाका कारण प्रभावित बन्ने नेपालको शेयरबजार आइतवार नेकपा माओवादीका अध्यक्ष प्रचण्डको अभिव्यक्तिका कारण पनि थप प्रभावित बनेको लगानीकर्ताको आरोप छ । आइतवार माओवादीका अध्यक्ष प्रचण्डले एक कार्यक्रममा बोल्दै औद्योगिक क्षेत्रमा लगाउनुपर्ने लगानी धितोपत्र बजारमा हुनु भनेको साम्राज्यवादको विकसित रूप भएको टिप्पणी गरेका थिए ।

यसैबीच, लगानीकर्ताका सबै संघहरू सम्मिलित एक संयुक्त कार्यदल गठन गरी पूँजीबजारको सुधारका लागि संयुक्त माग अघि सारेका छन् । कार्यदलले सोमवार अर्थ मन्त्रालय तथा अन्य सरोकारवाला निकायहरूले ३ वर्षअघि नै गर्छु भनेका ५८ बुँदामध्येका बाँकी कार्य तत्काल कार्यान्वयन गर्न उच्चस्तरीय कार्यदल गठन गर्न सरकारसँग माग गरेका छन् । सरकारद्वारा गठित उच्चस्तरीय सुझाव समितिले दिएका ५८ बुँदामध्ये बजारका लागि महत्त्वपूर्ण कार्यहरू सम्पन्न नहुँदा र पछिल्ला नीतिगत परिवर्तनका कारण बजार निरन्तर ओरालो लागेको संयुक्त कार्यदलका संयोजक अम्बिकाप्रसाद पौडेलले बताए । पूँजीबजारको यो संकटलाई तत्काल सम्बोधन गर्न ब्रोकरमार्पmत मार्जिन ट्रेडिङ कारोबार पूर्णरूपमा लागू हुनुपर्ने, राष्ट्र बैंकले लगाएको शेयर धितो कर्जाको सीमा तत्काल हटाउनुपर्ने, धितोपत्र बोर्ड र नेप्सेको प्रमुख तत्काल नियुक्त गर्नुपर्ने उनको भनाइ छ । करीब ३५ खर्ब पुगेको बजारले १२ खर्बभन्दा बढी गुमाइसक्दा सरकारको पनि अर्बौं राजस्व गुमेकाले यसप्रति सरकारले ध्यान दिनुपर्नेमा पौडेलले जोड दिए ।

घटबढमा मन्त्रीको कुनै भूमिका हुँदैन : अर्थमन्त्री शर्मा
अर्थमन्त्री जनार्दन शर्माले मन्त्रीले शेयरबजार घटाउन र बढाउन भूमिका खेल्न नसक्ने बताएका छन् ।

राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै नियमनकारी निकायलाई मात्र पूँजी बजारलाई कसरी सञ्चालन गर्ने विषय थाहा हुने बताए ।

‘तपाईंलाई एउटा भ्रम दिँदै ठग्लान्, ठगीमा पर्नुहोला,’ मन्त्री शर्माले सर्वसाधारण लगानीकर्तालाई आग्रह गरे, ‘नठगिएर आफ्नो व्यवसाय गर्नुहोस्, त्यसमा अर्थमन्त्री र अर्थ मन्त्रालयले घटाइदिने र बढाइदिने भन्ने कुरा हुँदैन, यसले संस्थाहरूलाई पारदर्शी बनाउने र बलियो बनाउने, ऐन कानूनलाई व्यवस्थित बनाउने काम गर्ने हो ।

त्यसमा हामी लागेका छौं ।’ मन्त्री शर्माले पूँजी बजारमा लगानी गरेका सबै लगानीकर्ताको लगानीको संरक्षण गर्न अर्थ मन्त्रालय सधैं गम्भीर रहेको बताए ।

मन्त्रालयले बजारमा अनियमितता गर्नेविरुद्ध छानविन गरेर कारबाहीसमेत गरिसकेको उनले बताए । शेयरबजारको समस्या समाधान गर्न धेरै कुरामा सुधार गर्नुपर्ने देखिएकाले विज्ञहरूसँग त्यसका लागि छलफल भइसकेको र त्यसतर्फ कार्य भइरहेको समेत शर्माले जानकारी दिए ।

लगानीकर्ताले अनावश्यक रूपमा भोगिरहेको समस्या र लगानीलाई सुरक्षित गर्न आवश्यक नीति र प्रविधि विकासमा मन्त्रालय गम्भीर रूपमा लागेको मन्त्री शर्माले बताए । यसमा लगानीकर्तालाई ढुक्क हुनसमेत उनको आग्रह छ । अहिले कुनै समूह यसबारे अफवाह फैलाउन लागिपरेको बताउँदै त्यस्तो भ्रममा नपर्न लगानीकर्तालाई उनको आग्रह थियो ।आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्