गहुुँ छर्ने सिजनमै डीएपी मलको अभाव
वीरगञ्ज,मंसिर २८ । तराई मधेशका जिल्लामा गहुँ छर्ने मुख्य समयमै मलको अभाव भएको छ । तराईका बारा, पर्सा, रौतहटलगायत जिल्लाका किसानले गहुँको सिजनमा डीएपी मलको अभाव झेल्नु परेको हो ।
धान काटिसकेपछि गहुँ छर्ने बेलामा डीएपी मल नपाइएको पर्सा पोखरियाका किसान श्याम ठाकुरले गुनासो गरे । गत वर्षामा धानखेतीका लागि मल नपाएका किसानलाई सरकारले गहुँ छर्दा मल अभाव नहुने आश्वासन दिएको थियो । मल आपूर्तिको जिम्मा लिएका ठेकेदारले अन्तिम समयसम्म मल आयात गर्न नपाएपछि धानको सिजनमा समेत अभाव भएको थियो । बंगलादेशबाट पैंचो मागिएको मल आपूर्तिमा समेत विलम्ब भएपछि सरकारले गहुँ खेतीका लागि उपलब्ध हुने बताएकोमा गहुँ छर्ने बेलामा पनि किसानले मल पाएका छैनन् ।
वीरगञ्जस्थित कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ लिमिटेडको क्षेत्रीय कार्यालयले मल उपलब्ध गराउन नसकिएको बताएका छन् । मागको तुलनामा आपूर्ति अत्यन्तै न्यून भएकाले समस्या भएको कृषि सामग्री कम्पनी प्रादेशिक कार्यालय वीरगञ्जका प्रमुख गोरखनाथ केसीले बताए । डीएपी मलको उच्च माग आएको केसीले बताए । मल आपूर्तिको जिम्मा लिएका कम्पनीले समयमा आपूर्ति नगरेकाले मलको संकट परेको कार्यालयले बताएको छ ।
कृषि समग्रीले चालू आर्थिक वर्ष २०७८/७९ मा अहिलेसम्म ९ हजार ५ सय मेट्रिक टन डीएपी मल विक्री गरेको छ । सरकारले यस वर्षका लागि ग्लोबल टेन्डरबाट २५ हजार मेट्रिक टन डीएपी मलको ल्याउने ठेक्का दिएको कार्यालयले जनाएको छ । वीरगञ्ज सुक्खा बन्दरगाहमा आउने गरी लोड भएको २ रेल ¥याक मल बाटोमै रहेको जानकारी पनि केसीले बताए । दुईओटा र्याकमा रहेको ५ हजार मेट्रिकटन मल यसै साता वीरगञ्ज सुक्खा बन्दरगाहमा आइपुग्ने र उक्त परिमाण आइसकेपछि आपूर्ति केही सहज हुने विश्वास कम्पनीको छ ।