काँग्रेस महाधिवेशन: पहिलो चरणमा सभापतिको टुंगो लाग्न कठिन



काठमाडौं, मंसिर २७ । नेपाली काँग्रेसको १४औं महाधिवेशनमा कुनै पनि उम्मेदवारले पहिलो चरणमा बाजी मार्ने सम्भावना कमजोर देखिएको छ । महाधिवेशनको दौरान गुटहरु छिन्नभिन्न हुने देखि कित्ता परिवर्तन हुनुले यस्तो अवस्था देखिएको हो ।

सभापति शेरबहादुर देउवा सबैभन्दा बलियो देखिन्छन् । तर, उनले विधान अनुसार पहिलो चरणमा बहुमत मत पाउने सम्भावना कमजोर देखिएको छ । उनीनिकट प्रवक्ता विश्वप्रकाश शर्माले कित्ता परिवर्तन गर्नु, सूचीमा नपरेका केन्द्रीय सदस्यका उम्मेदवारहरु अर्को समूहमा जानुले यस्तो अवस्था सिर्जना भएको हो । देउवा समूहमा लामो समय रहेका विमलेन्द्र निधि सभापतिका उम्मेदवार छन् । देउवासँग विगतमा नजिक रहेका कल्याण गुरुङ पनि सभापतिका उम्मेदवार छन् ।

सभापतिका अर्का उम्मेदवार डा. शेखर कोइरालालाई परिवारभित्रका सुजाता कोइराला र डा. सशांक कोइरालाको साथ देखिएको छैन । सुजाता प्रकाशमान सिंहको प्यानलमा उपसभापतिको उम्मेदवार छिन् । सशांक कुनै पनि गुटमा नरहेको सार्वजनिक अभिव्यक्ति दिएर पन्छिएका छन् । यसले पनि शेखरलाई असहयोग भएको प्रष्ट देखिन्छ । रामचन्द्र पौडेल पनि तटस्थ भूमिकामा देखिएका छन् ।

सभापतिका उम्मेदवार प्रकाशमान सिंह शेखरलाई उछिनेर दोस्रो बन्ने प्रयासमा छन् । उनले बागमती प्रदेशबाट उल्लेख्य मत प्राप्त गर्ने अपेक्षा गरेका छन् । त्यसबाहेक जनजातिको मत सिंहलाई बढी खस्ने आशा उनीपक्षधरले गरेका छन् । सुजाता कोइराला र विश्वप्रकाश शर्मासँग रहेको मत पनि सिंहलाई जाने हुँदा पासा पल्टन सक्छ । विमलेन्द्र निधिको आधार क्षेत्र मधेश हो । उनले मधेशबाट प्राप्त गर्ने मतले सबैभन्दा समस्या देउवालाई नै पर्न सक्छ । अर्कोतर्फ, कल्याण गुरुङले प्राप्त गर्ने मत पनि मधेशकै हो । उनको आधार क्षेत्र पनि मधेश नै हो ।

प्रतिक्रिया दिनुहोस्