कांग्रेस १४औं महाधिवेशन : नेतृत्वमा पुग्न चर्को प्रतिस्पर्धा हुँदै



काठमाडौं,मंसिर २६ । नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दै छ ।

आज (आइतवार) हुने निर्वाचका लागि सभापति पदमा ६ जनाले उम्मेदवारी दिएका छन । सभापतिमा वर्तमान सभापति शेरबहादुर देउवालाई चुनौती दिन संस्थापन इतरका दुई प्यानल र स्वतन्त्र रूपमा दुई जनाले उम्मेदवारी दर्ता गराए ।

१३ औं महाधिवेशनवाट सभापति चुनिएका देउवाले पार्टीलाई विधान र विधिमा चलाउन नसकेको आरोप लगाइरहेको इतरपक्ष विभाजित हुँदै उम्मेदवारी दिएको छ । देउवालाई सभापतिमा चुनौती दिँदै शेखर कोइराला र प्रकाशमान सिंह संस्थापन इतरबाट उम्मेदवारी दर्ता गराएका छन् ।

त्यसैगरी, स्वतन्त्र रूपमा कल्याण गुरुङ र युवराज न्यौपानेले सभापतिमा उम्मेदवारी दर्ता गराएका छन् ।

उनीहरूले सभापतिमा टक्कर दिन नसक्ने भए पनि देउवालाई शेखर र प्रकाशमानले टक्कर दिने आशा गरेका छन् ।

पहिलो चरणमा हुने मतदानमा कुल खसेको मतको ५१ प्रतिशत मत ल्याउनुपर्ने व्यवस्था छ । ५१ प्रतिशत मत प्राप्त हुन नसकेमा पुनः मतदान हुनेछ । दोस्रोपटक हुने मतदान भने शीर्ष दुईमात्र प्रतिस्पर्धी हुनेछन् ।

यस्तै, नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनमा उपसभापतिमा केही नयाँ र केही पुराना अनुहार देखिएका छन् । देउवा प्यानलमा उपसभापतिमा विजयकुमार गच्छादार र पूर्णबहादुर खड्काले उम्मेदवारी दर्ता गरेका छन् ।

शेखर कोइराला प्यानलबाट चन्द्र भण्डारी र धनराज गुरुङले उपसभापतिमा उम्मेदवारी दिएका छन् । त्यस्तै प्रकाशमान सिंह प्यानलबाट सुजाता कोइरालाले उम्मेदवारी दिएकी छन् । त्यस्तै स्वतन्त्र रूपमा महेश आचार्यले उपसभापतिमा उम्मेदवारी दिएका छन् ।

महामन्त्री पदमा ५ जनाले उम्मेदवारी दिएका छन । शनिवार मनोनयन दर्ताका लागि तोकिएको समयमा पाँच जनाले महामन्त्रीमा उम्मेदवारी दिएका दिए । शेरबहादुर देउवाले सभापतिको उम्मेदवारी दिँदा प्रकाशशरण महत र कृष्णप्रसाद सिटौला गुटबाट प्रदीप पौडेललाई छानेका छन् । त्यस्तै संस्थापनइतर पक्षबाट दुई जनाले सभापतिमा उम्मेदवारी दिँदा तीन जनाले महामन्त्रीमा उम्मेदवारी दर्ता गराए । शेखर कोइराला प्यानलबाट गगन थापा र मीनेन्द्र रिजालले महामन्त्रीमा उम्मेदवारी दर्ता गराएका छन् भने प्रकाशमान सिंहको प्यानलबाट विश्वप्रकाश शर्माले उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्