आर्थिक वृद्धिदर ७ प्रतिशत हुने अर्थमन्त्रीको दाबी



काठमाडौं,मंसिर २४ । अर्थमन्त्री जनार्दन शर्माले चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर ७ प्रतिशत नै प्राप्त हुने दाबी गरेका छन् ।

विभिन्न समस्याका कारण विगतमा आर्थिक वृद्धिको लक्ष्य भेट्न मुश्किल पर्ने गरे तापनि अब त्यस्तो समस्या नहुने बताउँदै उनले लक्ष्य भेटिने दाबी गरेका हुन ।

बिहीवार प्रतिनिधिसभाको अर्थसमिति बैठकमा बोल्दै अर्थमन्त्री शर्माले अहिले कोभिड महामारीपछि ९८ प्रतिशत उद्योग, कलकारखानाहरू पुनः सञ्चालनमा आइसकेको बताए । सबैतिर आर्थिक गतिविधि बढेको र यसले पनि आर्थिक वृद्धिमा मद्दत पु¥याउने उनको भनाइ छ ।

आर्थिक वृद्धिदर प्राप्त गर्न पछिल्लो समय मुख्य चुनौतीका रूपमा ‘क्लाइमेट चेन्ज’ देखिन लागेको मन्त्री शर्माको भनाइ छ । बेमौसमी वर्षाका कारण खर्बौंको क्षति भएको भन्दै उनले यी चुनौती भए पनि आर्थिक वृद्धिदरको लक्ष्य भेटिने बताए ।

मन्त्री शर्माका अनुसार अहिले पनि बजारमा तरलता अभाव कायमै छ । अहिले बैंकिङ क्षेत्रमा १६ अर्बमात्रै लगानीयोग्य रकम (तरलता) रहेको भन्दै उनले तरलता समस्या हटाउन सकिएको बताए । ‘चालू आर्थिक वर्षमा मात्रै २३ खर्ब ८६ अर्ब राष्ट्र बैंकले तरलता प्रवाह गरेको भए पनि समस्या समाधान भइसकेको छैन यसमा पूँजीगत खर्च नहुनु पनि एउटा कमजोरी हो । तर, समग्रमा सरकारी खर्च गतवर्षको भन्दा २ प्रतिशतले बढी रहेको छ,’ मन्त्री शर्माको भनाइ रहेको छ ।

वैदेशिक सहायता आउनेक्रम जारी रहेको बताउँदै उनले विभिन्न दातृ निकायहरूसँग छलफल, वार्ता भइरहेका बताएका छन् । ‘आईएमएफसँग हामीले भर्खरै ईसीएफअन्तर्गत करीब ४८ अर्ब अर्थात् ४ सय मिलियन डलर बराबरको सम्झौता गरेका छौं । तत्काल १ सय मिलियन हामीले प्राप्त गर्दै छौं । त्यस्तै विश्व बैंकसँग तीन ओटा डीपीसीहरू अगाडि बढेका छन् । त्यसबाट ३ सय मिलियन प्राप्त गर्दै छौं । अन्य निकाय एडीबी तथा अन्य देशहरूबाट पनि हामीले सहायता प्राप्त गर्ने प्रक्रियाहरू अगाडि बढेका छन्,’ मन्त्री शर्माले जानकारी दिँदै भने ।

राष्ट्र बैंकले गैरआवासीय नेपालीले डलरमा बचत खाता खोल्न पाउने व्यवस्था गरेको भन्दै यसले मुलुकको अर्थतन्त्रमा सकारात्मक असर गर्ने बताए । शर्माका अनुसार ‘मन्त्रालयले विमानस्थल भन्सारमा विशेष ‘टास्क फोर्स’ परिचालन गरेको छ । उक्त ‘टास्क फोर्स’ ले दैनिक १९/२० किलो सुन विमानस्थलमा नियन्त्रण लिएको छ । नियन्त्रणमा लिइएको सुनको भन्सार तिरेर मात्रै लैजाने व्यवस्था गरिएको बताउँदै शर्माले यसले राजस्वमा टेवा पु¥याउने विश्वास व्यक्त गरे ।

समितिको बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले निक्षेपको तुलनामा अधिक ऋण बिस्तार हुँदा तरलता अभाव भएको बताए । अधिकारीका अनुसार बैंकिङ प्रणालीबाट ४ सय ११ अर्ब कर्जा जाँदा निक्षेप ६४ अर्बले मात्र बढेको छ ।

‘साढे ३ खर्बको ग्यापले तरलता अभाव भएको हो,’ उनले भने । गभर्नर अधिकारीका अनुसार बिस्तार भएको कर्जाको ५० प्रतिशत अर्थात् २ सय ५ अर्ब रुपैयाँ आयातका लागि रकम खर्चिनुपरेको छ ।

विप्रेषणको वृद्धि खासै हुन नसकेको बताउँदै गभर्नर अधिकारीले औसतमा ८० अर्ब भित्रिरहेको बताए । उच्च आयात हुँदा विप्रेषणले त्यसलाई थेग्न नसकेको उनको भनाइ छ । ‘तरलतामा चाप पर्ने भएर आन्तरिक ऋण उठाइएको छैन, विप्रेषणलाई आकर्षित गर्न एक प्रतिशत बिन्दु बढी ब्याज दिने योजना ल्याएको छ, गैरआवासीय नेपालीको निक्षेप आकर्षित गर्न पनि नयाँ योजना ल्याएको हो,’ गभर्नर अधिकारीले भने । गभर्नर अधिकारीले बुझेर मात्रै शेयरबजारमा लगानी गर्न आग्रह गरेका छन् । उनले कोरोना महामारीको समयमा अन्यत्र लगानी नहुँदा शेयरबजारमा लगानी ओइरिएको पनि बताए ।

‘शेयरबजारमा बुझेर मात्रै लगानी गर्न र यसका लागि पब्लिक सचेतना बढाउनुपर्ने देखियो, वित्तीय विवरण हेरेर मात्रै लगानी गर्न म सबैमा आग्रह गर्छु,’ बिहीवार अर्थसमितिमा भएको छलफलका अधिकारीले भने । अर्थसचिव मधुकुमार मरासिनीले भने ३ वर्षमा शेयरबजार उचालिएको बताए ।

समितिको बैठकमा बोल्दै पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले बजारमा साना लगानीकर्ता घटेको बताए । ‘साना लगानीकर्ता घटे, मार्जिन लोन पनि घट्यो । बजार अनुमगन गर्न नसक्ने गरी घटे कसरी उत्साहित गर्ने हो,’ उनले भने ।

उनले कम्पनीको ग्रोथ कम भएको तर शेयर मूल्य बढेको बढ्यै गर्नु स्वाभाविक नभएको समेत बताए । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्