नुवाकोटको पञ्चकन्या, शिवपुरी र लिखुका विभिन्न विद्यालयमा चेतनामूलक नाटक ‘नदेखिने घाउ’ मञ्चन
नुवाकोट,मंसिर २३ । जिल्लाको शिवपुरी, पञ्चकन्या र लिखु गाउँपालिकाका विभिन्न विद्यालयमा चेतनामूलक नाटक ‘नदेखिने घाउ’ मञ्चन गरिएको छ। सो गाउँपालिका सेवा क्षेत्रका विभिन्न ९ वटा सामुदायिक विद्यालयका विद्यार्थी सामु सो नाटक प्रदर्शन गरिएको इन्टरनेसनल सेन्टर फर सोसियल थिएटर नेपाल (आईसीएसटी) का कलाकार प्रकाश दाहालले बताए।
विगत डेढ वर्षदेखि यस क्षेत्रमा कार्यरत संस्था कोशिश नेपालको प्रायोजनमा सो नाटक प्रदर्शन गरिएको हो। संस्थाका मनोविद सफल सापकोटाका अनुसार सो संस्थाले समाजमा रहेका, आर्थिक भौतिक विपत्तिका कारण मनोसामाजिक समस्यामा परेका नागरिकलाई परामर्श तथा उद्धार गर्दै आइरहेको छ।
साझापथसंगको कुराकानीमा सापकोटाले समाजमा त्यस्ता नागरिक हुन्छन् जो आफुमा आएको परिवर्तन, भित्री समस्या प्रस्तुत गर्न नसकी जीवनभर रुग्ण मनस्थिति लिएर बाच्छ्न। केही गर्ने उमेरमा हारेर बाच्छन, त्यस्ता मानिसलाई सस्थाले परामर्श दिने गरेको सापकोटाले बताए । पछिल्लो समय संस्थाले शिवपुरी, पञ्चकन्या र लिखु गाउँपालिका क्षेत्रमा रहेका तथा भौतारिएका ११ जना महिलाको उद्धार समेत गरिसकेको छ। संस्थाले विद्यालय उमेरदेखि नै मन र मस्तिष्क विषयमा ज्ञान दिन सकेको खण्डमा कुनै पनि ब्यक्ति मनोसामाजिक समस्यामा पर्नबाट जोगिने सापकोटाले बताए।
सोही उदेश्य अनुसार विद्यालय तहमा चेतनामूलक नाटक ‘नदेखिने घाउ’ यस क्षेत्रका विभिन्न विद्यालयमा प्रदर्सन गरिएको सापकोटाले बताए। उनका अनुसार पञ्चकन्या गाउँपालिकाको कालिका माध्यमिक विद्यालय कविलास, बच्छला माध्यमिक विद्यालय भद्रुटार, कुण्डला माध्यमिक विद्यालय भद्रुटार, गम्बोडाडा विद्यालय आरुखर्क, उदय जालपा माध्यमिक विद्यालय थप्रेक, पञ्चकन्या माध्यमिक विद्यालय पञ्चकन्यामा नाटक प्रदर्शन गरिसकिएको छ।
त्यस्तै शिवपुरी गाउँपालिकाको कुम्भेश्वर माध्यमिक विद्यालय, लिखु गाउँपालिकाको क्षेत्रपाल माध्यमिक विद्यालय, सिद्धीगणेश आधारभूत विद्यालय भट्टथोक लगायतका विद्यालयहरुमा झण्डै २ हजार विद्यार्थीलाई नाटक देखाई सकिएको छ। नाटक प्रदर्शनको क्रममा विद्यालय तहमा समेत मनोसमाजिक समस्यामा परेका थुप्रै विद्यार्थी भेटिएको सो संस्थाले जनाएको छ। आवश्यक खण्डमा संस्था परामर्शका लागि सदैव तयार रहेको बताइएको छ।
तस्बिरमा हेर्नुहोस..