पब्लिक कम्पनीमा जान निर्माण व्यवसायीलाई मन्त्रीको आग्रह
काठमाडौं,मंसिर २३। शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले नेपालका निर्माण व्यवसायीहरूलाई पब्लिक कम्पनीमा जान सुझाव दिएकी छन् । हजारौं निर्माण कम्पनीभन्दा पनि ती कम्पनीलाई मर्जरमा लगेर ठूलो पूँजी भएका कम्पनीको रूपमा विकास गर्न आवश्यक भएको भन्दै उनले यस्तो सुझाव दिएकी हुन् ।
नेपाल निर्माण व्यवसायी महासंघले बुधवार काठमाडौंमा आयोजना गरेको १४औं निर्माण दिवसको अवसरमा मन्त्री झाँक्रीले ठूलो पूँजीको कम्पनी बनाउँदा अन्तरराष्ट्रिय बजारमा पनि जान सकिने र प्रतिस्पर्धी क्षमता पनि बढ्ने बताइन् । नेपालमा द्रुतमार्ग, फ्लाइओभर, उच्च बाँध, सुरुङमार्गजस्ता संरचना निर्माणको क्रम शुरू भइसकेको भन्दै उनले नेपाली निर्माण व्यवसायी तथा कम्पनीहरूको क्षमता अभिवृद्धि पनि उत्तिकै जरुरी रहेको उल्लेख गरिन् ।
उक्त अवसरमा उनले ढिलोचाँडो अनिवार्य रूपमा पब्लिक कम्पनीमा नगई नहुने बताइन् । साना कम्पनीभन्दा ठूला कम्पनी भएमा त्यसले प्रविधि हस्तान्तरण, जवाफदेहिता, मर्यादा पनि बढ्ने भन्दै झाँक्रीले भनिन्, ‘सरकार तथा करदाताको ठूलो रकम खर्च गर्ने निर्माण कम्पनीहरूले जनतालाई लाभांश पनि दिनसक्नुपर्छ, सडकमा हिँड्ने मात्रै हुँदैन ।’ पारिवारिक खालका कम्पनी २/२ ओटा जेसीभी, टिप्पर, इन्जिनीयर मात्रै राखेर बनाइएको निर्माण कम्पनीले सार्वजनिक खर्च पनि उचित रूपमा गर्न नसक्ने उनको दाबी छ । साना कम्पनीहरूलाई पनि काम सिक्ने मौका ठूला कम्पनीहरूले दिनुपर्ने भन्दै उनले मर्जरमा जान सुझाव दिइन् । उक्त अवसरमा निर्माण उद्योगलाई व्यवस्थित तथा मर्यादित बनाउन नियमावलीमा मात्रै नभई कानूनमै संशोधन आवश्यक भएको पनि उनले बताइन् । त्यस अवसरमा महासंघका अध्यक्ष रवि सिंहले निर्माण उद्योगको विकास विस्तारविना समृद्ध मुलुकको परिकल्पना असम्भव रहेको दाबी गरे । निर्माण उद्योगमा धेरै समस्या रहेको भन्दै उनले वर्तमान सरकारले व्यवसायी मैत्री ऐन नियम ल्याउनेमा आशावादी रहेको बताए । निर्माण दिवसको अवसरमा महासंघले आयोजना गरेको रक्तदान कार्यक्रममा ३४ जनाले रक्तदान गरेका थिए । यसै अवसरमा प्रदेश महासंघ, जिल्ला निर्माण व्यवसायी संघहरूले पनि विविध कार्यक्रम गरी देशभर नै निर्माण दिवस मनाए ।