श्रम क्षेत्रका समस्या समाधान गर्न कार्यदल गठन
काठमाडौं,मंसिर २३ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रलायले चुस्त श्रम प्रशासन, स्वदेशमै रोजगारी सृजना, शीपयुक्त जनशक्तिको उत्पादन र वैदेशिक रोजगारका क्रममा देखिएका चुनौती समाधान गर्न कार्यदल गठन गरेको छ ।
मन्त्रालयको जिम्मेवारी सम्हालेयता लगातार सरोकारवालासँग बहुपक्षीय छलफलमा जुटेका श्रममन्त्री कृष्णकुमार श्रेष्ठले समस्याको दीर्घकालीन समाधान खोज्न तीन ओटा कार्यदल बनाएका हुन् । आन्तरिक रोजगारको व्यवस्थापन तथा वैदेशिक रोजगारीका विद्यमान समस्या र चुनौतीको उचित सम्बोधन तथा व्यवस्थापनका लागि मन्त्रालयका सहसचिवको नेतृत्वमा कार्यदल बनाइएको मन्त्रालयले बताएको छ ।
शीप विकाससम्बन्धी तालिम एकीकृत संरचनामार्फत सञ्चालन गर्न, वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन, नीतिगत सुधार गर्न, श्रम कूटनीतिलाई प्रभावकारी बनाउन कार्यदलले सुझाव दिनेछ । कार्यदलले १५ दिनभित्र आवश्यक सुझावसहितको प्रतिवेदन मन्त्रालयलाई बुझाउनेछ ।
विभिन्न मन्त्रालय र मातहतका निकायले दिँदै आएका सीप विकाससँग सम्बन्धित तालिम एकीकृत संरचनामार्फत सञ्चालन गर्न सम्भावना र चुनौतीबारे अध्ययन गर्न व्यावसायिक तथा शीप विकास तालिम प्रतिष्ठानका कार्यकारी निर्देशक बद्रीनाथ अधिकारीको संयोजकत्वमा विभिन्न मन्त्रालय र राष्ट्रिय योजना आयोगका प्रतिनिधि सम्मिलित छ सदस्यीय कार्यदल बनाइएको छ । उस्तै प्रकृतिका तालिम फरक–फरक निकायबाट सञ्चालन हुने, एउटै व्यक्तिले विभिन्न तालिम लिने तर काम नपाउने समस्या रहेकाले त्यसको समाधान खोज्नुपर्ने मन्त्रालयको निष्कर्ष छ । विभिन्न निकायबाट तालिम सञ्चालन हुँदा त्यसको प्रभावकारितामाथि प्रश्न उठ्दै आएको छ । आर्थिक अभियानबाट