पुनर्निर्माणसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन शुरू



पुनर्निर्माणका अनुभव तथा सिकाइ अनुकरणीय : राष्ट्रपति

काठमाडौं,मंसिर २३ । २०७२ सालको भूकम्पपछिको पुनर्निर्माणका उपलब्धि, अनुभव तथा सिकाइ आदानप्रदान गर्न आयोजित पुनर्निर्माणसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन–२०७८ बुधवारदेखि शुरू भएको छ । सम्मेलनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुभएको हो । उद्घाटन समारोहमा राष्ट्रपति भण्डारीले अन्तरराष्ट्रिय समुदायले खुला गरेको सहयोग भूकम्पपछिको पुनर्निर्माण तथा पुनःस्थापनामा कोसेढुंगा सावित भएको बताउनुभयो । ‘भूकम्पपछिको पुनर्निर्माण तथा पुनःस्थापनाका क्रममा हामीले प्राप्त गरेका अनुभव तथा सिकाइ अन्तरराष्ट्रिय समुदाय तथा हाम्रै भावी पुस्ताका लागि अनुकरणीय हुनेछन्,’ उहाँले भन्नुभयो, ‘यस सन्दर्भमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माण कार्यसँग सम्बन्धित सबै पक्षलाई संलग्न गराई तयार पारेका दस्तावेजहरू विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका क्षेत्रमा लाग्ने जो कसैका लागि महत्त्वपूर्ण ज्ञानका भण्डारका रूपमा रहने मेरो विश्वास छ ।’

कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले पुनर्निर्माणबाट निर्णय क्षमता, नयाँ प्रविधि एवं दक्ष जनशक्ति उत्पादन भएको बताए । विपद् व्यवस्थापन तथा पुनर्निर्माणमा उच्च राजनीतिक समझदारी तथा मित्र राष्ट्रहरूको सहयोग महत्त्वपूर्ण हुने भन्दै उनले बाँकी रहेका केही कार्य सरकारका नियमित संयन्त्रमार्फत सम्पन्न गर्ने व्यवस्था गरिएको जानकारी दिए । उद्घाटन कार्यक्रमको अध्यक्षता समेत गरेका परारष्ट्रमन्त्री डा. नारायण खड्काले दातृ निकाय तथा विकास साझेदारहरूको सहयोगले नेपालीको पुनर्निर्माण अगाडि बढाउने आत्मविश्वास र उत्थानशीलतामा महत्त्वपूर्ण टेवा दिएको बताए ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले विकास साझेदारलगायत सबै सरोकारवालाका सहयोगमा पुनर्निर्माण मूलभूत रूपमा सम्पन्नताको चरणमा पुगेको उल्लेख गरे । आगामी दिनमा पुनर्निर्माण तथा विपद् व्यवस्थापनका कार्य गर्दा राजनीतिक नेतृत्वले दृढ प्रतिबद्धता, सबै पक्षबीच समझदारी, अधिकारसम्पन्न स्वायत्त निकाय, समुदायको परिचालन एवं सबैलाई समेट्ने नीति लिनुपर्ने बताए ।

उद्घाटन कार्यक्रममा भारतका विदेशमन्त्री एस जयशंकर, चीनका विदेशमन्त्री वाङ यी, बेलायतको एफसीडीओका मन्त्री लर्ड अहमद, जापानका विदेश मामिलासम्बन्धी संसदीय राज्य मन्त्री होण्डा तारोको रेकर्ड गरिएका सन्देश प्रस्तुत गरिएको थियो । त्यसैगरी, राष्ट्रसंघको एसिया तथा प्यासिफिक विकास समन्यव कार्यालयका क्षेत्रीय निर्देशक नेइल बुह्ने, एडीबीका उपाध्यक्ष शिसिन चेन, युरोपियन कमिशनर फर क्र्याइसिस म्यानेजमेन्ट जानेज लेनार्सिस, एसडिसीका महानिर्देशक प्याट्रिसिया डाञ्जी र क्यानडाको नेपाल समेत हेर्ने दिल्लीस्थित  चार्ज डी अफेयर्स अमान्डा स्ट्रोहानका रेकर्ड गरिएका सन्देश प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरी, विश्व बैंकका नेपाल, मालदिभ्स र श्रीलंका प्रमुख फारिस हदाद जेर्भोस र युनिसेफका दक्षिण एसिया क्षेत्रीय निर्देशक लार्यिय एड्जेईले सम्बोधन गरेका थिए । यस्तै नेपालस्थित नर्वेकी राजदूत तारुन ड्रामडालले नर्वेको अन्तरराष्ट्रिय विकासमन्त्री आन विथ टिभिनेरेइमको सन्देश पढेर सुनाएकी थिइन् । कार्यक्रममा नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्रा, चीनका राजदूत होउ यान्छी र स्विट्जरल्याण्डकी राजदूत एलिजावेथ भोन क्यापेलरको पनि उपस्थिति थियो । उद्घाटन कार्यक्रमलगत्तै सम्मेलन अन्तर्गतका १० ओटा विषयगत सत्र सम्पन्न भएका छन् । बिहीवार थप १० ओटा सत्र सम्पन्न भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा अपराह्न सम्मेलन समापन हुनेछ । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्