विद्यालयमा मगर भाषाको पढाइ



प्युठान,मंसिर २२ । जिल्लाको सरुमारानी गाउँपालिका–४ बड्डडाडा स्थित जनता माद्यमिक विद्यालयमा मगर भाषाको कक्षा सञ्चालन भएको छ । मगर समुदायको भाषा, लिपि र रीतिरिवाजको संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले मगर भाषाको पढाइ थालिएको विद्यालयका प्रधानाध्यापक योग कुमार पाण्डेले बताउनुभयो ।

प्रअ पाण्डेले भन्नुभयो, ’मगर भाषा संरक्षण गर्न विद्यालयमा यसको पठन पाठन शुरु गरेका हौं।’ विद्यालयले गएको तीन बर्षदेखी पाठ्यक्रम विकास केन्द्रले निर्माण गरेको पाठ्यपुस्तकलाई आधार बनाएर ऐच्छिकरुपमा १०० पूर्णाङ्कको मगर भाषाको पठन पाठन शुरु गरिएको जनाएको छ ।

विद्यालयमा हाल १ देखि ३ कक्षासम्म मगर भाषाको पढाई सञ्चालन हुँदै आएको छ। मगर समुदायको बाहुल्यता रहेको गाउँपालिकाको उक्त विद्यालय मगर भाषा पढाउने पहिलो विद्यालय रहेको सरुमारानी गाउँपालिकाका शिक्षा शाखा प्रमुख पुष्पलाल शाहीले जानकारी दिनुभयो । उहाँले मातृभाषाका लागि गाउँपालिकाले छुट्टै पाठ्यक्रम बनाउने तयारी भईरहेको समेत जानकारी दिनुभयो। पालिकामा नेपाली भाषापछिको दोस्रो भाषाकोरुपमा मगर भाषा बोल्ने गरिएको छ।

प्रतिक्रिया दिनुहोस्