विश्व बैंकको सहयोगमा २ ओटा अक्सिजन प्लान्ट सञ्चालनमा



काठमाडौं,मंसिर २० । विश्व बैंकको वित्तीय लगानीमा लुम्बिनी प्रादेशिक अस्पताल र जनकपुर प्रादेशिक अस्पतालमा आइतवारदेखि नयाँ अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ।

ती दुई ओटा प्लान्टहरु विश्व बैंकको वित्तीय लगानीमा सञ्चालन भएका हुन् । विश्व बैंकको लगानीमा ‘परियोजना सेवाका लागि संयुक्त राष्ट्र संघीय कार्यालय (यूएनओपीएस्) ले उक्त प्लान्टहरु खरीद तथा स्थापना गरेको हो ।

सञ्चालनमा आएका ती अक्सिजन प्लान्टहरु प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको गुणस्तर मापन तथा नियन्त्रण महाशाखा प्रमुख मदन कुमार उपाध्याय र विश्व बैंकको माल्दिभ्स, नेपाल तथा श्रीलंकाका कन्ट्री डाइरेक्टर फारिस हदाद जार्भोसले अक्सिजन प्लान्ट सम्बन्धित प्रदेशलाई हस्तान्तरण गरेका हुन् ।

आगामी ३ वर्षसम्म यूएनओपीएसले नै पूर्णरुपमा उक्त प्लान्टहरुको सञ्चालन तथा मर्मत गर्ने  जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । विश्व बैंकको लगानीमा यसअघि (गत जुन महीनामा) देशभरका स्वास्थ्य केन्द्रहरुमा १० लिटर क्षमताका १ हजार ओटा अक्सिजन कन्सन्ट्रेटर वितरण गरिएको थियो । हाल स्थापना भएका अक्सिजन प्लान्टले प्रादेशिक अस्पतालहरुको क्षमता वृद्धि गर्नुका साथै कोभिड महामारीसँग लड्न थप मद्दत पुग्ने पनि विज्ञप्तिमा उल्लेख छ ।

विश्व बैंकका अनुसार बाँकी पाँच ओटा प्रदेशमा पनि अक्सिजन प्लान्ट १५ दिनभित्र सञ्चालनमा आइसक्ने छन् । विश्व बैंकको कार्यक्रम ‘कोभिड–१९ इमर्जेन्सी रेस्पोन्स एन्ड हेल्थ सिस्टम प्रिपेयडनेस प्रोजेक्ट’अन्तर्गत रहेर त प्लान्टहरू निर्माण गरिएका हुन् । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्