राजनीतिक परिवर्तनलाई संस्थागत गर्न आर्थिक विकास आवश्यक : अर्थमन्त्री शर्मा



विराटनगर मंसिर १९। अर्थमन्त्री जनार्दन शर्माले राजनीतिक परिवर्तनलाई संस्थागत गर्न आर्थिक विकास हुनुपर्ने बताउँदै आर्थिक विकास नभए व्यवस्थाप्रति नै जनताले विद्रोह गर्ने बताएका छन् । यसअघिका विद्रोह वा आन्दोलनहरू आर्थिक विकासकै निम्ति भएको उनको भनाइ छ । उनले भने, ‘आर्थिक विकासले मात्र जनताको आकांक्षा पूरा गर्न सकिन्छ ।’ स्थानीय र प्रदेशलाई बलियो र क्षमतावान बनाएर ५ वर्ष कस्सिएर लाग्दा विकासमा निकै ठूलो फड्को मार्न सकिने बताउँदै उनले अबको योजना १०० वर्षपछिका लागि बनाएर अघि बढ्नुपर्ने उल्लेख गरे ।

मुलुककै जेठो व्यापारिक तथा औद्योगिक संस्था मोरङ व्यापार संघको ६५औं साधारणसभालाई सम्बोधन गर्दै मन्त्री शर्माले उदारवादी अर्थतन्त्रले असमानता बढेर गएकाले असमानता घटाउन प्रगतिशील पूँजीवाद आवश्यक रहेको बताए ।

नेपाली उद्योगीले विदेशमा उद्योग खोलेर डलर आर्जन गरी नेपाल भित्र्याउन सक्ने भएकाले त्यसलाई स्वीकृति दिने या नदिने भन्ने विषयमा छलफल भइरहेको उनले बताए । विदेशी बैंकबाट ऋण लिएर उद्योग खोल्न सक्ने प्रावधान रहेको बताउँदै शर्माले एनआरएन र विदेशी संस्थाले नेपालमा खाता खोलेर सोभैm डलर पठाउन सक्ने व्यवस्था गरेको जानकारी दिए ।

आफूले बजेट बनाए पनि खर्च गर्ने मन्त्रालय नभएकाले तत्काल पूँजीगत खर्च द्रुत गतिमा खर्च हुन नसकेको उल्लेख गर्दै उनले खर्च गर्ने मोडालिटीमा परिवर्तन गरेर पूँजीगत खर्च समयमानै खर्च हुनेगरी व्यवस्था गर्न लागिएको बताए ।

मोरङ व्यापार संघलाई अर्थमन्त्री जनार्दन शर्माले अर्थ मन्त्रालयको सल्लाहकार संस्थाको रूपमा घोषणा समेत गरे । व्यापार संघको ६५औं साधारणसभालाई सम्बोधन गर्दै सरकार र निजीक्षेत्र एकअर्काका प्रतिद्वन्द्वी नभई सहयोगी हुनुपर्ने र आर्थिक विकासको मेशिन नै निजीक्षेत्र भएको मन्त्री शर्माले बताए ।

अर्थसचिव मधुकुमार मरासिनीले पूँजीगत खर्चमा पनि इतिहास रच्नेगरी काम हुने उल्लेख गरे । आर्थिक वृद्धिदर ७ प्रतिशत पुग्नेमा कुनै समस्या नरहेको बताउँदै मरासिनीले कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, वृद्धभत्तालगायत विभिन्न तरीकाले ४४ लाख घरमा मासिक रूपमा रकम पुगिरहेकाले खर्च गर्ने अवस्था निराशाजनक नरहेको उल्लेख गरे । उनले भने, ‘राष्ट्र बैंकले कमर्शियल बैंकहरूलाई २५ अर्ब रुपैयाँ ट्रजरी बिल किन्दिन्छु यो रकम लैजाउभन्दा १६ अर्बको निवेदन पर्‍यो । तर, ९ अर्ब मात्रै बैंकहरूले रकम लगे । अब लिक्विडिटीको समस्या रहेछ त ?’ पुस महीनामा केही समस्या हुने तर माघ लागिसकेपछि तरलता अभाव नहुने उनले बताए ।

मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले नेपाल अल्पविकसित मुलुकबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने भएकोमा आफूहरू गौरावान्वित भएको तर १० वर्षमा विकासशील राष्ट्रबाट विकसित राष्ट्रका रूपमा स्तरोन्नति गर्न प्रतिबद्ध भएर लाग्नुपर्ने अवस्था आएको बताए । कार्यक्रम मुख्यमन्त्री राजेन्द्र राई, आर्थिक मामिला मन्त्री इन्द्रबहादुर आङ्बो, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष टीकाराज ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष भीम घिमिरे, उद्योग संगठनका अध्यक्ष सुयशराज प्याकुरेललगायतले सम्बोधन गरेका थिए । कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने महानुभावहरूलाई सम्मान गरिएको थियो । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्