कात्तिक महीनामा मात्र जीवन बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन १० अर्बभन्दा बढी



काठमाडौं,मंसिर १९ । कात्तिक महीनामा मात्र १९ ओटा जीवन बीमा कम्पनीहरुले रू. १० अर्ब १९ करोड ८२ लाखभन्दा बढी कुल बीमाशुल्क आर्जन गरेका छन् । 

बीमा समितिले दिएको तथ्यांक अनुसार यी कम्पनीहरुले प्रथम बीमाशुल्क, नविकरण बीमाशुल्क र वैदेशिक रोजगार बीमाशुल्क बापत उक्त रकम संकलन गरेका हुन् । १९ ओटा जीवन बीमा कम्पनीहरुमध्ये सिटिजन लाइफ, सन नेपाल लाइफ, ज्योति लाइफ र नेपाल लाइफले मात्र कुल बीमाशुल्कमा प्रथम बीमाशुल्क, नविकरण बीमाशुल्क बाहेक वैदेशिक रोजगार शीर्षकबाट पनि बीमाशुल्क आर्जन गरेका हुन् । 

कुल बीमाशुल्क आर्जनमा नेपाल लाइफ इन्स्योरेन्स अग्र स्थानमा रहेको छ । कात्तिक महीनामा मात्र नेपाल लाइफले रू. २ अर्ब ६४ करोड ४३ लाखभन्दा बढी कुल बीमाशुल्क आर्जन गरेको हो । 

नेपाल लाइफले प्रथम बीमाशुल्क रू. ६२ करोड ४३ लाख, नविकरण बीमाशुल्क रू. २ अर्ब १ करोड ९४ लाख र वैदेशिक रोजगार बीमा शुल्कवापत रू. ४ लाखभन्दा बढी रकम संकलन गरेको हो । नेपाल लाईफ इन्स्योरेन्स पछि लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले सर्वाधिक दोस्रो नम्बरमा कुल बीमाशुल्क आर्जन गरेको छ । 

लाइफ इन्स्योरेन्स कर्पोरेशनले कात्तिक महीनामा मात्र रू. १ अर्ब ३३ करोड ६५ लाख कुल बीमा शुल्क आर्जन गरेको हो । यस कम्पनीले प्रथम बीमाशुल्क वापत रू. २३ करोड ८ लाख र नविकरण बीमाशुल्क वापत रू. १ अर्ब १० करोड ५७ लाखभन्दा बढी रकम संकलन गरेको हो । 

महालक्ष्मी लाइफले कात्तिक महीनामा सबैभन्दा कम कुल बीमाशुल्क आर्जन गरेको छ । यस कम्पनीले रू. १० करोड ८० लाख कुल बीमाशुल्क आर्जन गरेको हो । महालक्ष्मी लाइफले प्रथम बीमाशुल्क वापत रू. ४ करोड १४ लाख र नविकरण बीमाशुल्क वापत रू. ६ करोड ६६ लाख रकम संकलन गरेको हो । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्