पहिलो त्रैमासमा तेह्रथुम पावरले कमायो १ करोड १८ लाखभन्दा बढी नाफा
काठमाडौं,मंसिर १८ । तेह्रथुम पावर कम्पनीले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण शुक्रवार सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार कम्पनीले पहिलो त्रैमासमा रू. १ करोड १८ लाख ७५ हजार नाफा कमाएको हो । गत आवको पहिलो त्रैमासमा भने कम्पनी रू. ८६ लाख ७० हजार नोक्सानीमा थियो । चालू आवको पहिलो त्रैमासमा विद्युत् विक्री आम्दानीमा वृद्धि भएकाले कम्पनीको नाफामा सुधार आएको हो ।
गत आवको पहिलो त्रैमासमा विद्युत् विक्री बापत रू. २ करोड ३० लाख ९ हजार आम्दानी गरेको उक्त कम्पनीको चालू आवको सोही अवधिमा वृद्धि भएर रू.४ करोड ७६ लाख ६६ हजार पुगेको छ ।
कम्पनीको चुक्तापूँजी रू. ४० करोड रहेको छ भने जगेडा कोष रू. ८ करोड ४५ लाख ऋणात्मक रहेको छ । आईपीओ निष्कासन पछि कम्पनीको चुक्तापूँजी रू. २८ करोडबाट रू. ४० करोड पुगेको छ ।
चालू आवको पहिलो त्रैमाससम्ममा कम्पनीको प्रतिशेयर आम्दानी रू.१२(वार्षिकीकरण) रहेको छ । कम्पनीले गत भदौ ९ गतेदेखि १३ गतेसम्म ८ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो । कम्पनीले हाल तेह्रथुम जिल्लामा ७ दशमलव ५ मेगावाटको अपर खोरुङ स्मल हाइडोपावर प्रोजेक्ट निर्माण गरिरहेको छ । आर्थिक अभियानबाट