कोरोना भाइरसको नयाँ भेरियन्ट भारतमा देखियोे



काठमाडौं,मंसिर १७ । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन छिमेकी देश भारतमा देखिएको पुष्टि भएको छ । दक्षिण भारतको कर्नाटक राज्यमा दुई व्यक्तिमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट फेला परेको भारतको स्वास्थ्य मन्त्रालयले बिहीवार दिउँसो पत्रकार गरी सम्मेलन जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार भारतमा पहिलोपटक ६६ र ४६ वर्षका दुई पुरुषमा कोरोना भाइरसको यो नयाँ भेरियन्ट फेला परेको हो ।

मन्त्रालयका अनुसार अरू शहरमा पनि ओमिक्रोनको परीक्षण शुरू गरिएको छ । यसअघि बिहीवारै भारत आएका चारजना विदेशी यात्रुमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट पुष्टि भएको थियो ।

बुधवारदेखि लागू हुनेगरी भारतले उच्च जोखिम भएका देश यूके, दक्षिण अफ्रिका, न्यूजील्यान्ड, बंगलादेश, हङकङ र इजरायलबाट आउने यात्रुलाई कडाइ गरिसकेको छ । कोभिड पुष्टि नहुने यात्रुले ७ दिन घरमा क्वारेन्टाइनमा बस्नुपर्ने र आठौं दिन फेरि परीक्षण गर्नुपर्ने नियम छ ।  

नेपालमा उच्च सतर्कता

कोरोनाभाइरसको यो नयाँ भेरियन्ट भित्रिन सक्ने जोखिमलाई दृष्टिगत गर्दै नेपालमा भेटिएका कोरोना भाइरसको जीन सिक्वन्सिङ कार्यलाई पहिलेको तुलनामा तीव्र पार्नेगरी काम अघि बढाइएको सरकारी दाबी छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अधिकारीहरूका अनुसार अब पहिलेको तुलनामा चाँडोचाँडो जीन सिक्वन्सिङ गरिनेछ । दक्षिण अफ्रिकामा पहिलोपटक देखा परेको कोरोना भाइरसको उक्त भेरियन्ट हालसम्म विभिन्न देशहरूमा पुगिसकेको पाइएको छ ।

नेपालले पनि ओमिक्रोन भित्रिन सक्ने भन्दै दक्षिण अफ्रिका, हङकङलगायत मुलुकबाट नेपाल आउन प्रतिबन्ध लगाइसकेको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार ओमिक्रोनको जोखिमबारे विचार गरेर परीक्षण र जीन सिक्वन्सिङको पाटोमा गरिने कामलाई तीव्रता दिन थालिएको छ । ‘विदेशबाट आउनेहरूको परीक्षण गर्दा कसैको पनि संक्रमण पुष्टि भएको पाइयो भने उनीहरूको नमूना राखेर त्यो नमूना अनिवार्य रूपमा सिक्वन्सिङ गर्ने र अरू नियमित तरीकाले पुष्टि भइरहेका संकमितहरूको नमूनामध्ये स्याम्प्लिङ गरेर सिक्वन्सिङ गर्ने भन्ने छ,’ उनले भने । ती नमूनाहरूको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र स्वस्थ्य मन्त्रालसँग सम्झौता भएअनुसार पब्लिक हेल्थबाट संकलन गरी इङल्यान्डमा पठाएर जीन सिक्वन्सिङ गर्ने प्रबन्ध मिलाएको उनको भनाइ छ । 

यो भेरियन्ट नोभेम्बर ९ मा संकलित नमूनामा पहिलोपटक फेला परेको हो । विश्व स्वास्थ्य संगठनले दक्षिण अफ्रिकाका सबै प्रान्तमा यो भेरियन्टबाट संकमित मानिसको संख्या बढेको देखिएको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्