पितृलाई दीपदान गर्न नुवाकोटका विभिन्न मन्दिरमा रातभर जाग्राम
नुवाकोट,मंसिर १६ । बालाचतुर्दशीअन्तर्गत दिवंगत पितृका नाममा दीपदान गरिँदै छ । साँझ दीपदान गरी भोलिपल्ट बिहानै पितृको सम्झनामा शतबीज छरेर बालाचतुर्दशी पर्व मनाइदै आएको छ ।
बिहीबार साँझ दीपदान अर्थात् बत्ती बाल्नका लागि नुवाकोटको विभिन्न मन्दिरहरुमा भक्तजनको भीड लागेको छ। यस वर्ष जिल्लाको पञ्चकन्या र शिवपुरी गाउँपालिकाको सिमानामा पर्ने त्रिवेणी धाममा भक्तजनको भीड लागेको हो। बत्ती बाल्न बस्ने ठाउँ रोक्दै बिहीबार बिहानैदेखि नुवाकोटको पञ्चकन्या र लिखु गाउँपालिकाको सिमानामा पर्ने राक्क्षेश्वर मन्दिरमा भक्तजनको भीड लागेको छ। त्यस्तै भद्रुटार मिश्रापधेरो शिव मन्दिर,कुण्डला मन्दिर, दुप्चेको दुप्चेश्वर मन्दिर, थानापती मन्दिर लगायत विभिन्न मन्दिरमा मेला लागेको छ।
त्रयोदशीको दिन साँझ दीपदान गरेर उनीहरु रातभर भजनकीर्तन गरी जाग्राम बस्छन् र भोलिपल्ट चतुर्दशीको दिन आफ्नो परिवारभित्रका दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शतबीज छर्छन् ।
शतबीजमा हाल धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो मिसाएर छर्ने चलन छ ।