बागलुङ गलकोटमा ९५ जनाले गरे रक्तदान



बागलुङ,मंसिर १५ । बागलुङको गलकोट नगरपालिका – ३ , हटिया बजारमा स्थानीय रोट्रयाक्ट क्लव अफ गलकोटको आयोजना र नेपाल रेडक्रस सोसाईटी बागलुङको  प्राविधिक सहयोगमा सम्पन्न रक्तदान कार्यक्रममा ९५ ले रक्तदान गरेका छन। ‘रक्तदान नै जीवन दान हो’ भन्ने मुल नाराका साथ रक्तदान कार्यक्रम सन्चालन गरिएको संस्थाका अध्यक्ष अनिल श्रेष्ठले जानकारी दिए । उनले रगतको अभाव हुन नदिनका लागि रक्तदान कार्यक्रम आयोजना गरिएको बताए। यो आफैमा परोपकारी कार्य भएकोले नागरिकको हितमा यसले टेवा पुराउने उनले विश्वास व्यक्त गरे ।

कार्यक्रममा बोल्दै गलकोट नगरपालिकाका नगर उपप्रमुख रेनुका काउचा मगरले युवाहरुले गरेको परोपकारी कामले आफुलाई गौरव लागेको बताएकी छन । गलकोटका युवाहरुले रक्तदान गरेर उदाहरणिय कार्य गरेको बताउदै सबैले अनुसरण गर्नुपर्नेमा उनले जोड दिइन।   युवाहरुले सामाजिक कार्यमा देखाएको सकृयता र रचनात्मक कार्यमा गलकोट नगरपालिकाले सदैव आवश्यक सहयोग गर्ने उनले प्रतिवद्वता समेत जनाईन ।

सो अवसरमा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा बागलुङका सभापति जब्बर बहादुर लामिछानेले मन्तव्य राखेका थिए । रक्तदान कार्यक्रममा गलकोट नगर स्थित कर्मचारी, शिक्षक, विद्यार्थी, सञ्चारकर्मी, सुरक्षाकर्मी सहित सर्वसाधारण सहभागी थिए । क्लवले कोरोना माहामारीको समयमा जिल्लाको गलकोट नगरपालिका र तमानखोला गाउँपालिकामा हेल्प क्याम्प सञ्चालन, विपन्न परिवारलाई खाद्यान्न, लत्ताकपडा सहयोग लगायतका सामाजिक कार्यहरु सम्पन्न गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्