नेकपा मसाल फेरि विभाजित



बुटवल,मंसिर १५ । पटक–पटक विभाजन ब्यहोर्दै आएको मोहनविक्रम सिंह नेतृत्वको नेकपा  नेपाल कम्युनिष्ट पार्टी मसाल फेरि विभाजित भएको छ । राष्टिय जनमोर्चाका पूर्वमहासचिव एवं पुर्वसांसद सन्तबहादुर नेपालीको संयोजकत्वमा नेकपा मसाल  केन्द्रीय समन्वय समिति गठन भएको छ।

पार्टीमा फरक विचार राख्दै आएपछि कारबाहीमा परेका र पार्टीभित्र रहेका असन्तुष्ट नेता–कार्यकताहरुको राष्ट्रिय भेलाले नेकपा मसाल केन्द्रीय समन्वय समिति गठन गरेका हुन् ।
३१ जिल्लाका १९१ जना प्रतिनिधि सहभागी राष्ट्रिय भेलाले  नेपालीको संयोजकत्वमा ५६ जनाको केन्द्रीय समन्वय समिति र ११ सदस्यीय सल्लाहकार समिति गठन गरेको जनाइएको छ । समन्वय समितिको प्रवक्तामा कृष्णराज पौडेल चयन भएका छन् । अन्य नेताहरुको नाम सार्वजनिक नगर्ने नीति रहेको सो समूहले जनाएको छ । समन्यव समितिमा पार्टी नेताहरु विमल शर्मा, गोविन्द सिंह थापा, जीवन शर्मा, रामबहादुर बुढा, नारायण योगी, शशिधर भण्डारी, गंगाधर शर्मा, दीपक पौडेल लगायतका नेताहरु छन् । मंगलबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा समन्वय समितिका संयोजक नेपालीले नेकपा मसाल दक्षिणपन्थी, अधिनायकवादी र स्वेच्छाचारी भएकोले विद्रोह गर्नुपरेको बतााए ।

नेतृत्वले सातौं महाधिवेशनपछि पार्टीमा फरक मत राख्नेलाई कारवाही गर्दै पार्टीबाट पाखा लगाउन खोजेको संयोजक नेपालीले गुनासो गरे । समितिले नेतृत्वलाई सच्चिएर आउन र विशेष महाधिवेशन गर्न माग गरे।

प्रतिक्रिया दिनुहोस्