२० महीनापछि भारतको मुम्बई र बैङ्लोर उडान गर्ने तयारीमा नेपाल एयरलाइन्स



काठमाडौं,मंसिर १५ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले २० महीनापछि भारतको मुम्बई र बैङ्लोरमा पुनः उडान शुरु गर्न लागेको छ ।     
     
 कोभिड–१९ महामारीका कारण स्थगन गरिएका दुवै गन्तव्यको उडान पुनः सञ्चालनमा आउने भएको हो । महामारी नियन्त्रणका लागि सरकारले लागू गरेको बन्दाबन्दीका कारण २०७६ चैतदेखि स्थगित उडान पुनः सुचारु हुने भएको निगमले बताएको छ ।

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले महामारीका कारण स्थगित गरिएका मुम्बई र बैङ्लोर उडान पुनः शुरु गर्ने तयारीमा रहेको जानकारी दिए। योसहित अब साविकबमोजिम भारतका तीन ओटै गन्तव्य नयाँदिल्ली, मुम्बई र बैंलोरमा निगमको नियमित उडान हुनेछ ।     
     
 सन् २०२० मार्च २१ तारिखदेखि भारतको बैङ्लोरमा नेपाल एयरलाइन्सको उडान हुन सकेको थिएन । अध्यक्ष अधिकारीका अनुसार डिसेम्बर १७ तारिखदेखि मुम्बईमा साताको दुई दिन हरेक शुक्रवार र सोमवार नेपाल एयरलाइन्सको उडान हुनेछ । त्यसैगरी बैङ्लोर गन्तव्यमा पनि डिसेम्बर १८ तारिखदेखि साताको दुई दिन हरेक शनिवार र मंगलवार उडान हुनेछ । दुवै गन्तव्यका लागि छिट्टै टिकटको बुकिङ पनि खुला गरिनेछ ।     
     
 काठमाडौं–बैङ्लोर–काठमाडौंको उडान धार्मिक पर्यटनका दृष्टिले पनि राम्रो मानिन्छ । छिमेकी मुलुक भारतबाट सबैभन्दा धेरै पर्यटक नेपाल आउने गरेका छन् । नेपाल एयरलाइन्सको नियमित उडान तथा उडान सङ्ख्या बढ्ने भएकाले अब नेपाल आउने भारतीय नागरिक बढ्ने अनुमान गरिएको छ ।

नेपाल एयरलाइन्सको बैङ्लोरकी स्टेसन म्यानेजर रीतादेवी राईले भारतबाट नेपाल आउन चाहने धेरैभन्दा धेरै धार्मिक यात्रु प्रतीक्षारत रहेको बताइन् । उनले एक दुई दिनभित्रै अग्रिम बुकिङ खुलाइने जानकारी दिइन्। बैङ्लोरबाट नेपाल आउने धार्मिक पर्यटकको सङ्ख्या ठूलो रहेकाले यो गन्तव्यको व्यापार पनि राम्रो हुने म्यानेजर राईको भनाइ छ ।     
     
दिल्लीमा सात ओटा उडान थपियो     

     
 नेपाल एयरलाइन्सले भारतको नयाँ दिल्लीमा सातामा सात ओटा उडान थप्ने भएको छ । कोभिड महामारीपछि उडान स्थगित भएको केही समयपछि एयर बबल सम्झौताअनुसार सुरुमा साताको दुई तथा हाल दैनिक एक उडान गर्दै आएको नेपाल एयरलाइन्सले अब दैनिक दुई उडान गर्ने तयारी गरेको एयरलाइन्सले बताएको छ ।

नेपाल एयरलाइन्सका अध्यक्ष अधिकारीले अब दैनिक दुई उडान गर्ने गरी हाल भइरहेका सातामा सात ओटा उडानलाई १४ ओटा बनाउन लागिएको जानकारी दिए। एयरलाइन्सको व्यापारिक हिसाबले नयाँ दिल्ली महत्वपूर्ण मानिन्छ । यो गन्तव्यमा दुइतर्फी यात्रुको चाप रहन्छ ।     
     
दुबईमा पनि उडान थपिंदै     
     
नेपाल एयरलाइन्सले दुबई गन्तव्यमा पनि उडान थप्ने भएको छ । दुबईमा पनि सातामा सात  ओटा उडान भइरहेकामा अब थप दुई उडान थपेर सातामा नौ ओटा उडान सञ्चालन गरिनेछ । यो गन्तव्यमा डिसेम्बर ५ तारिखदेखि दुई ओटा उडान थप गरिने एयरलाइन्सले बताएको छ ।  

साउदी अरेबियामा पनि छिट्टै उडान     
     
 नेपाल एयरलाइन्स नेपाली श्रमिकको बाहुल्यता रहेको साउदी अरेबियामा पनि छिट्टै उडान सञ्चालन गर्ने गरी अन्तिम तयारीमा जुटेको छ । निगमका अध्यक्ष अधिकारीका अनुसार साउदी अरेबियाको रियाद र दमाम गन्तव्यमा सातामा दुई उडान गर्नेगरी तयारी भइरहेको छ । जिएसए छनोट भई त्यहाँको सिभिल एभिएसनबाट उडान अनुमति लिने प्रक्रिया करिब अन्तिम चरणमा रहेकाले ढिलोमा महीना दिनभित्रै उडान सञ्चालन गरिने अध्यक्ष अधिकारीले बताए ।

नेपाल एयरलाइन्सले भारतका तीनसहित सात ओटा देशका नौ  ओटा गन्तव्यमा अन्तरराष्ट्रिय उडान गर्दै आएको छ । निगमसँग अन्तरराष्ट्रिय उडानका लागि दुई थान न्यारो बडी ए ३२० र दुई थान वाईड बडी ए ३३० जहाज छन् । आर्थिक अभियानबाट

  

प्रतिक्रिया दिनुहोस्