एमालेमा ओलीको फराकिलो जीत
काठमाडौं, मंसिर १४ । नेकपा एमालेका अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् । उनले प्रतिष्पर्धी भीम रावललाई ठूलो मतान्तरले पराजित गर्दै जित हासिल गरेका छन् । दुवैबीच १७ सयभन्दा बढी मतान्तर देखिएको छ ।
नेकपा एमालेको अध्यक्षमा निर्वाचित केपी शर्मा ओलीले १९०० मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी डा. भीम रावलले १९६ मत प्राप्त गरेका छन् ।
ओलीले दोस्रोपटक अध्यक्ष निर्वाचित हुँदा एमाले फुटिसकेको छ । उनका पुराना सहकर्मीहरु पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र झलनाथ खनाल छैनन् । उनीहरुले नेकपा एकीकृत समाजवादी पार्टी खोलिसकेका छन् ।
ओली यसअघिको महाधिवेशनबाट पनि अध्यक्षमा निर्वाचित भएका थिए । उनले त्यतिबेला माधवकुमार नेपाललाई कडा प्रतिपर्धामा झीनो मतान्तरले हराएका थिए ।