हेलो नेपालको लाइसेन्स खारेज
काठमाडौं,मंसिर १३। नेपाल स्याटेलाइट टेलिकम प्रालि (हेलो नेपाल)ले निर्धारित समयमा बक्यौता नतिरेपछि लाइसेन्स अनुमति खारेज गरिएको छ । अजेयराज सुमार्गीको नाममा रहेको उक्त कम्पनीले तिर्नुपर्ने बक्यौता नतिरेको भन्दै दूरसञ्चार प्राधिकरणले अनुमति खारेज गरेको हो ।
दूरसञ्चार प्राधिकरणको हालैको बोर्ड बैठकले हेलो नेपालको लाइसेन्स खारेज गर्ने निर्णय गरेको प्राधिकरणका निर्देशक सन्तोष पौडेलले जानकारी दिए । उनका अनुसार पछिल्लो समय बक्यौता तिर्ने प्रतिबद्धता समेत कम्पनी व्यक्त गरेको थियो ।
हेलो नेपाल यसअघि पनि खारेजी प्रक्रियामा परेको थियो । तर बक्यौता तिर्ने प्रतिबद्धता गरेपछि गतवर्ष रोकिएको थियो । प्राधिकरणका निर्देशक पौडेलका अनुसार दूरसञ्चार ऐनबमोजिम नै हेलो नेपालको अनुमति खारेज गरिएको हो ।
प्राधिकरणका अनुसार १७ साउन २०७६ मा बक्यौता नबुझाएको भन्दै प्राधिकरणले यस कम्पनीको अनुमतिपत्र खारेज गर्ने निर्णय गरेको थियो । त्यतिखेर कम्पनीलाई त्यसको पुनरवलोकनका लागि समेत अवसर दिइएको थियो । तत्कालीन मन्त्रिपरिषद्को बैठकले नै किस्तामा बक्यौता तिर्ने सुविधा दिएको थियो । मन्त्रिपरिषद्को बैठकले त्यो अन्तिम अवसर भएको र त्यसपछि प्राधिकरणले ऐनबमोजिम गर्नुपर्ने बताएको थियो । किस्ता सुविधा दिएपछि जम्मा एक किस्ता तिरेको प्राधिकरणका उपनिर्देशक अच्युतानन्द मिश्रले बताए ।
तत्कालीन मन्त्रिपरिषद् बैठकको निर्णयानुसार प्राधिकरणले नेपाल स्याटेलाइट प्रालिलाई पाँच वर्षमा १ अर्ब ३८ करोड ७२ लाख ५३ हजार बक्यौता किस्तामा भुक्तानी गर्न समय दिएको थियो, जसअनुसार कम्पनीले पहिलो किस्तास्वरूप २०७७ असार मसान्तमा २१ करोड ५१ लाख पहिलो किस्ता बुझाइसकेको छ ।
यस्तै, कम्पनीले दोस्रो वर्ष अर्थात् २०७८ को असार मसान्तसम्म ३३ करोड ९८ लाख बुझाउनुपर्नेमा त्यो बुझाएन । त्यस्तै, तेस्रो वर्ष ३० करोड ८६ लाख, चौथो वर्ष २७ करोड ७४ लाख र पाँचौं वर्ष २४ करोड ६३ लाख भुक्तानी गर्नेगरी समय दिएको थियो । नियमित किस्ता नतिरेपछि प्राधिकरणले ‘एक्सन’ लिएको अधिकारीहरू बताउँछन् ।
असार मसान्तसम्ममा तोकिएको बक्यौता रकम भुक्तानी नगरेपछि गत कात्तिक ५ गते बसेको प्राधिकरणको बोर्ड बैठकले हेलो नेपालसँग भुक्तानीको विषयमा जानकारी माग गर्ने निर्णय गरेको थियो ।