स्याङ्जामा सुन्तला सुपरजोन क्षेत्र विस्तार



स्याङ्जा,मंसिर १२ । स्याङ्जा जिल्लाको केही भेगमा सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ सुन्तला सुपरजोनको क्षेत्र विस्तार गरिएको छ ।

पुतलीबजार नगरपालिकाका आठ वडा, भिरकोट नगरपालिकाका छ वडा, अर्जुनचौपारी गाउँपालिकाका दुई वडा र वालिङ नगरपालिकाको एउटा वडामा कार्यक्षेत्र रहेको सुन्तला सुपरजोनको क्षेत्र विस्तार गरी जिल्लाभर बनाइएको कार्यालय प्रमुख माधव लम्सालले जानकारी दिए ।

सुन्तला जोनबाट क्षेत्र विस्तार गर्दै सुपरजोन बनाइएको र अहिले सुपरजोनअन्तर्गत नै समग्र स्याङ्जा जिल्लाभर सुन्तलाखेती गर्ने समूह, सहकारी र निजी फर्मलाई पनि यसमा समावेश गरिएको उनले बताए । 

यसअघि जिल्लाका १७ वडाका एक हजार ५०० हेक्टर क्षेत्रफलमा सुन्तला सुपरजोनको कार्यक्रम लागू भएकोमा अहिले जिल्लाका सुन्तला उत्पादन हुने ठाउँ सबैलाई यसमा समेटिएको उनले बताए ।

‘विभिन्न पालिकाका १७ ओटा वडामा एक हजार ५०० हेक्टर क्षेत्रफलमा सुन्तलाको बगैँचा रहेको थियो’, उनले भने, ‘अहिले क्षेत्र विस्तार गरेसँगै जिल्लाभरिमा दुई हजार हेक्टर क्षेत्रफल पुगेको छ ।’ १० हेक्टरभन्दा बढी क्षेत्रफलमा सुन्तला उत्पादन गर्ने समूह, सहकारी तथा व्यक्तिलाई सुपरजोनमा आवेदन दिनका लागि सूचना जारी गरिएकोमा मापदण्डभित्र परेकालाई सुपरजोनको कार्यक्षेत्रभित्र समेटिएको उनले बताए ।

‘चालू आर्थिक वर्षको साउनमा किसानलाई सूचीकृत हुनका लागि कार्यालयबाट सूचना जारी गर्‍यौँ’, उनले भने, ‘धेरैजसोले सूचीकृतका लागि आवेदन दिए । अझै पनि केही छुट्नु भएकाले उनीहरुलाई पुनःसूचीकृत हुन भनेका छौँ र मापदण्डभित्र पर्ने सबैलाई समेटेर योजनाको कार्यान्वयन गर्छौं ।’

स्याङ्जामा सूचीकृत हुनेको संख्या थप नहुँदाको अवस्थामा तीन हजार ३०० जना सुपरजोनमा आबद्ध थिए भने थप भए पनि पूर्ण तथ्यांक आइनसकेको उनको भनाइ छ । यस वर्ष स्याङ्जामा सुन्तला उत्पादनमा कमी हुने अुनमान कार्यालयको छ । 

गत वर्ष धेरै फलेकाले यस वर्ष बोटमा कम फल लागेको, लामो समयसम्म भएको वर्षा र औँसा किराको प्रकोपका कारण पाँच–सात प्रतिशतसम्म उत्पादन घट्नसक्ने अनुमान गरिएको छ । स्याङ्जामा गत वर्ष सुन्तला विक्रीबाट रू. ५५ करोड बढी आम्दानी भएको थियो । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्