माओवादी केन्द्रले देशभरको स्थानीय तहको अधिवेशन गर्दै, प्रचण्डले भुर्चअल सम्बोधन गर्ने
काठमाडौं,मंसिर ११ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले आज देशभरको ७५३ वटै स्थानीय तहको अधिवेशन सुरु गरेको छ। माओवादीले सम्पर्क समन्वय समिति र विशेष समितिसमेत गरी ७७६ वटा पालिका स्तरीय सम्मेलन आयोजना गर्न लागेको हो ।
पालिका सम्मेलनलाई अध्यक्ष पुष्पकमल दाहालले आज भर्चुअल सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । दिउँसो १ बजे अध्यक्ष दाहालले सबै पालिका सम्मेलनलाई एकैपटक सम्बोधन गर्ने उहाँको सचिवालयले जनाएको छ ।
सम्मेलनले प्रदेश सम्मेलनका लागि प्रतिनिधिसमेत चयन गर्ने माओवादीको केन्द्रीय निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठले बताए । माओवादीले आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन तय गरिएको छ । माओवादीले सबै पालिकाको सम्मेलनको आवश्यक तयारी भइसकेको जनाएको छ ।
यसअघि यही मंसिर ४ गते सबै वडाको सम्मेलन गरी नयाँ नेतृत्वसमेत चयन भइसकेको छ । माओवादीले वडा सम्मेलन, पालिका सम्मेलन, प्रदेश सम्मेलन गरेर राष्ट्रिय सम्मेलनमा केन्द्रीत हुने गरी नीति र विधि तय गरेको निर्वाचन आयोगका प्रमुख श्रेष्ठको भनाइ छ ।
वडा सम्मेलनमा निर्वाचित भएका प्रतिनिधिले विधानमा भएको व्यवस्थाअनुसार ३५ प्रतिशत महिला, २० प्रतिशत युवा, १५ प्रतिशत दलित र पाँच प्रतिशत मुस्लिमको प्रतिनिधित्व सुनिश्चित हुनेगरी नेतृत्व चयन गर्दछ ।